काठमाडौं, १ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आफूहरुलाई कमजोर नठान्न चेतावनी दिएका छन् । नेता श्रेष्ठले ओलीलाई ५०औं हजार जनता सडकमा उतार्न सक्ने राप्रपालाई कमजोर नसोच्न ओलीलाई भनेका छन् ।
एमाले अध्यक्ष ओलीले राप्रपा र पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गरेर अराजक समूह संज्ञा दिएपछि नेता श्रेष्ठले तत्काल प्रतिक्रिया जनाएका हुन् । ओलीले आज एक कार्यक्रममा राप्रपालक्षित गरेर देशमा अराजकता बढेको टिप्पणी गरेका थिए । साथै, राप्रपाले उत्ताउलोपना देखाएको ओलीको भनाइ थियो ।
ओलीको उक्त अभिव्यक्तिको खण्डण गर्दै नेता श्रेष्ठले राप्रपाले जति प्रदर्शन गरेर देखाउन एमालेलाई चुनौतिसमेत दिएका छन् ।
‘५०औं हजार नागरिकलाई सडकमा उतार्ने तागत राख्ने शक्तिलाई शक्ति नमान्नेहरुलाई चुनौति छ– आजको दिनमा राप्रपाले जति प्रदर्शन गरेर देखाउनुस्,’– उनले भनेका छन् ।
आफ्नो गल्ती, अकर्मण्यता र असफलता ढाकछोप गर्न राजा, राजसंस्था वा विगतको व्यवस्थालाई गाली गर्नेहरुले राप्रपाले नयाँ अवस्था र नयाँ व्यवस्था चाहेको बुझ्नुपर्ने नेता श्रेष्ठको भनाइ छ । उनले राप्रपाले चाहेको व्यवस्थामाराजा, जनता सबै अटाउने उनले दाबी गरेका छन् । ढिला नगरी नवीन समझदारी गर्न आवश्यक रहेको र यो नै देशको दीर्घकालीन हितमा हुने उनको भनाइ छ ।