Logo

संरक्षणको प्रतीक्षामा निशानदेवी मन्दिर



धरान, वैशाख ७ । धरान उपमहानगरपालिका वडा नं ५ निशान डाँडामा रहेको निशानदेवीको मन्दिर संरक्षणको अभावमा जीर्ण भएको छ। तत्कालीन पाँचकन्या गाउँ विकास समितिको क्षेत्राधिकारमा रहेको यो मन्दिर सङ्घीयता कार्यान्वयनसँगै धरान उपमहानगरमा गाभिए पनि यसको संरक्षणमा कसैले चासो देखाएका छैनन्।

मन्दिरका पुजारी विदुर भण्डारीका अनुसार प्राचीन विजयपुर राज्यको निशानका रूपमा मन्दिर स्थापना भएको हो। मन्दिर व्यवस्थापन समितिले संरक्षणमा सहयोग गर्ने समाजसेवीको खोजी गरिरहेको छ।

धरानका व्यवसायी अशोक अग्रवालले निशानदेवी मन्दिरको संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कोशी प्रदेशको धरान मन्दिरहरूको सहरका रूपमा पनि परिचित छ। धरान उपमहानगपालिका क्षेत्रभित्र बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर, विष्णुपादुका, पञ्चकन्या मन्दिर, विश्वकर्मा मन्दिर, शनि मन्दिर छन्।

यहाँ शिव मन्दिर, राम मन्दिर, कृष्ण मन्दिर, ‘इस्कोन’ मन्दिर, वैष्णव मन्दिर, बालाजी मन्दिर, बालगोपाल मन्दिर पनि छन्। धरान बजारभन्दा अलि टाढा रहेको निशानदेवी मन्दिर भने संरक्षणको अभावमा जीर्ण बनेको छ।

निशानदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परशुराम बुढाथोकीले आर्थिक अभावमा मन्दिरको संरक्षण कठिन भएको बताउँदै स्थानीय निकाय र भक्तजनमा सहायताका निम्ति आग्रह गरेका छन्। मन्दिरको अविलम्ब जीर्णोद्धार गर्नुपर्ने भएकाले सामाजिक संघसंस्थालाई उनले भौतिक एवं आर्थिक सहयोग गर्न आह्वान गरेका छन्।



प्रतिक्रिया दिनुहोस्