Logo

प्रदेशको पुनर्संरचना गरेरमात्रै संघीयता बलियो बनाउन सकिन्छः मिलन लिम्बु



काठमाडौं, १० वैशाख । आसन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट इलाम–२ मा उम्मेदवारी दर्ता गराएका मिलन लिम्बुले प्रदेश पुनर्संरचनाको आवश्यकता औंल्याएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले प्रदेश सभा नेता÷कार्यकर्ता थन्क्याउने थलो बनेको बताए । उनले प्रदेशलाई पुनर्संरचना गरेरमात्रै संघीयतालाई बलियो बनाउन सकिने उनको भनाइ छ । साथै, स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउन आश्यक रहेको उनले बताए ।

‘व्यवस्थालाई बलियो बनाउने हो भने प्रदेश सभालाई पुनर्संरचना गर्नुपर्छ । अहिले प्रदेश सभामा नेता कार्यकर्तालाई लगेर थन्क्याउने प्रयन्त गरिएको छ । प्रदेश संरचनालाई पुनर्संरचना गरेर संघीयतालाई बलियो बनाउन पर्छ । स्थानीय सरकार छन्, स्थानीय सरकारलाई अधिकार सम्पन्न गराउन पर्छ,’– उनले भने ।

यसअघि इलामबाट निर्वाचित संघीय सांसदहरुले विकासका सपना देखाएर पनि त्यसलाई चक्नाचुर पारेको उनको भनाइ छ । उनले आफ्नो एजेण्डा पनि आधारभूत आवश्यकता नै भएको उनको भनाइ छ । अहिले पनि इलाममा खानेपानी, सडक, शिक्षा, स्वास्थ्यलगायतका समस्याहरु यथावत रहेको उनले बताए ।

‘संघीय सांसदहरुले विकासका सपना देखाएर ती सपनाहरुलाई चक्नाचुर पारेर हिँडेको विगत हामीले देख्न सक्छौं । अहिले पनि हाम्रो क्षेत्रमा पानी पिउन नपाएर बसाइँ सर्नुपर्ने अवस्था यथावत छ । सडकको अवस्था हेर्दैगर्दा अहिले पनि त्यस्तै छ ।’ उनले भने, ‘हामीले पढ्दा सामुदायिक विद्यालयमा पाँच÷छ सय विद्यार्थी हुन्थे । अहिले बाख्राको खोर बनेको हामीले देखेकै छौं । मैले भन्न खोजेको आरोप–प्रत्यारोप होईन । यी एजेण्डाहरु हामी सबैका साझा एजेण्डा हुन् ।’



प्रतिक्रिया दिनुहोस्