Logo

पूर्वगृहमन्त्री रावलले मागे गृहमन्त्री लामिछानेको राजीनामा



काठमाडौं, १३ वैशाख । नेकपा (एमाले) का नेता एवं पूर्व उपप्रधानमन्त्री भीम रावलले पदमा बस्नेहरुले नै जनताको सञ्चयमाथि लुट मच्चाएको बताएका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारी ठगी प्रकरणमा हजारौं मानिस सडकमा रोइरहेको बताएका हुन् । उनले यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूमाथि प्रश्न उठेपछि छानविनका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताए । सहकारी ठगीमा गृहमन्त्री लामिछानेविरुद्ध तथ्य संगत तरिकाले विषयहरु बाहिर आइरहेको उनको दाबी छ ।

यदि कोही व्यक्ति निर्दोष हो भने निश्पक्ष छानविनबाट प्रमाणित हुनुपर्ने उनले बताए । गृहमन्त्री लामिछानेले आफूमाथि लागेको आरोपमाथि निश्पक्ष छानविनमा मार्ग प्रशस्त गर्नुपर्नेमा उल्टै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्दोष भनेर क्लिन चिट दिएको भन्दै आपत्ति जनाए । उनले ‘के प्रधानमन्त्री अनुसन्धान अधिकृत हो ?’ भन्दै प्रश्नसमेत गरे । प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेले कानुनी शासनको उल्लङ्घन गरेको उनको दाबी छ । मिटरब्याजी सामन्तवादको नाङ्गो रुप भएपनि सरकारले कारबाही नगरको उनको भनाइ छ ।

‘अहिले सहकारीको कुरा आइरहेको छ । सहकारी पीडित हजारौं मानिसहरु आज रोइरहेका छन् । यो करोडौंमा होईन, अर्बौंमा लुट मच्चाइएको छ । ठूला पदमा बस्नेहरुले जनताको सञ्चयमाथि मनपरी गरेर अर्बौं रुपैयाँको अपचलन गरेका छन् ।’ नेता रावलले भने, ‘गृहमन्त्रीको बारेमा कुरा उठेको छ, रवि लामिछानेजीको बारेमा । छानविनको कुरा उठेको छ । उहाँलाई मैले यहाँबाट उहाँ दोषी हुनुहुन्छ, जेल पठाउ भनेको होईन । तर, यत्रो पदमा बसेको व्यक्तिको बारेमा कयौं कुराहरु तथ्य संगत किसिमले आइसकेपछि छानविन गर्नु पर्छ कि पर्दैन ?’

साथै, अहिले गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको विषय प्रचार प्रसार गरेकै भरमा एक जना युवकले विष सेवन गर्नुपर्ने अवस्था सिर्जना भएको भन्दै उनले आपत्ति जनाए । विगतमा सञ्चारकर्ममा र संसद्मा प्रतिपक्षमा रहँदा लामिछानेले यस्ता विषयमा खरो ढंगले विषय उठान गर्ने गरेको स्मरण गराउँदै उनले गृहमन्त्रीको विरुद्ध बोलेको, लेखेकै भरमा विष खानु पर्ने अवस्था आउनु दुःखद् रहेको बताए ।

‘एउटा कुनै नागरिकले, स्नातकोत्तर अध्ययन गर्ने नागरिकले गृहमन्त्रीजीको बारेमा सहकारी सम्बन्धी गम्भीर कुरा उठिसकेपछि यसको छानविन गर्नुपर्छ भनेर कसैले सामाजिक सञ्जालमा लेखेको कुरालाई उनले अरु साथीहरुलाई पठाएकोमा प्रहरीले साइबर व्यूरोमा बोलाएर धम्क्याउँदाखेरी निजले त्यही साइबर व्यूरोको कार्यालय अगाडि विषपान गरेको भन्ने समाचार आइरहेको छ ।’ उनले भने, ‘उनी अहिले अस्पतालमा छन् । यो के के हो ? यो लोकतन्त्र हो कि ? अनि हिजो रवि लामिछानेजी जति बेला उहाँ संसद्मा हुनुहुन्थ्यो वा सञ्चारकर्मी हुनुहुन्थ्यो । उहाँ के बोल्नुहुन्थ्यो ? आज गृहमन्त्री भएर कसैलाई धम्की दिएर विष खानुपर्ने स्थितिमा पुर्याउने भनेको यो भन्दा निन्दनीय के हुनसक्छ ?’



प्रतिक्रिया दिनुहोस्