काठमाडौं, २० चैत । भूमि अधिकार तथा श्रमिक संगठन नेपालको रचनात्मक क्रियाकलाप विभागको संयोजन तथा व्यवस्थापनमा ‘महिला सशक्तिकरण महोत्सव– २०८१’ को शुभराम्भ भएको छ । आज (बिहीबार) नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महोत्सवको उद्घाटन गरेका हुन् ।
महोत्सवको मूल नारा ‘स्रोत, साधन र शक्तिमा समान अधिकार, महिला सशक्तिकरणको मूल आधार’ रहेको छ । महोत्सव काठमाडौंको आलोकनगरमा आयोजना गरिएको हो । महोत्सवले महिला सशक्तिकरणको विविध आयामको सन्देश आमरुपमा वहसमा ल्याउन र विचार प्रवाहका साथै आ– आफ्नो व्यवसाय प्रवर्द्धनका माध्यमबाट आर्थिक सवलीकरण गर्न टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
महोत्सवमा महोत्सवमा महिलाहरुबाट व्यापार व्यवसायका पसल स्टलहरु तथा चमेना गृहहरु सञ्चालन हुने बताइएको छ । साथै, विभिन्न प्रकारका मनोरञ्जनात्मक खेल तथा विविध साँस्कृतिक कार्यक्रमहरु समेत सञ्चालन हुनेछन् ।
त्यसैगरी, महिला सशक्तिकरण विविध आयामका मुद्दामा वहस, छलफल तथा अन्तरक्रिया कार्यक्रम हुनेछ । त्यस्तै कार्यक्रममा भूमि अधिकारबाट बञ्चित महिला र असंगठित महिला श्रमिकहरुको व्यापक सहभागिता रहने आयोजकको भनाइ छ । महोत्सवलाई आफ्ना आवाज सुनाउने ठाउँ नपाएकाहरुको लागि सुनाउने ठाउँ बनाइने बताइएको छ । Photo By: Mukunda Kalikote/RN