काठमाडौं, वैशाख २४ । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मनसरा’ टिमले हालै सम्पन्न नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच भएको ५ खेलको सिरिजमा कीर्तिपुर क्रिकेट मैदानमा काम गर्ने कर्मचारीलाई १ लाख रुपैयाँ सहयोग गरेको छ ।
फिल्म र खेलकुदबीच सहकार्य तथा एकअर्का प्रवर्द्धन गर्ने हेतुले फिल्म टिमले क्यानसँग सहकार्य गरी कर्मचारीलाई १ लाख सहयोग गरेको हो । फिल्मका निर्माता शैलेन्द्र डी कार्कीले आगामी दिनमा पनि ग्राउण्डमा काम गर्ने कर्मचारीलाई हौसला मिलोस् भन्ने हेतुले आफूहरूले ग्राउण्ड स्टाफलाई एक लाख नगद सहयोग गरेको बताए ।
फिल्म ‘मनसरा’ कवि उपेन्द्र सुब्बा निर्देशित दोस्रो फिल्म हो । फिल्मले वर्ड अफ माउथ राम्रै पाइरहेको छ । फिल्मको कथा पनि स्वयम् निर्देशक सुब्बाले नै लेखेका हुन् । फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ ।