काठमाडौं,२४ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आज सर्वोच्च अदालत जाने भएको छ । पूर्व मुख्यमन्त्री तथा कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले आज सर्वोच्चमा रिट हाल्न लागेका हुन् ।
पाण्डेले अधिकारीले पाएको विश्वासको मत बदर गरेर आफैलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री नियुक्त गरिपाउँ भनी परमादेश माग्ने भएका छन् । मुख्यमन्त्री अधिकारीले आइतबार प्रदेश सभाबाट विश्वासको मत लिएका थिए ।
गण्डकीका सभामुख कृष्ण धितालले ६० सदस्यीय प्रदेशसभामा ३० सिटलाई बहुमत घोषणा गरेर अधिकारीले बहुमत प्राप्त गरेको बताएका थिए । उनले आफूसँग पनि मत हाल्न पाउने अधिकार रहेको बताएका थिए ।
आइतबारको संसद् बैठकमा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ३० मत परेको थियो भने विपक्षमा २७ तथा २ जना तटस्थ बसेका थिए । ३१ सिट बहुमतका लागि चाहिने गण्डकीमा सभामुखले ३० लाई नै बहुमत घोषणा गरेका थिए । सो घोषणाविरुद्ध पाण्डे आज अदालत जाने भएका हुन् ।
पाण्डेले गत वर्ष कोशी प्रदेशको सन्दर्भमा सर्वोच्चले स्थापित गरेको नजिरलाई आधार मानेर परमादेश माग्ने तयारी गरेका छन् । तत्कालीन मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा प्रदेश सभाको अध्यक्षता गरिरहेका कांग्रेस सांसद इस्राइल मन्सुरीले विश्वासको मत दिएपछि एमाले संसदीय दलका नेता हिक्मत कार्की अदालत गएका थिए । अदालतले थापाले लिएको विश्वासको मत बदर गर्दै कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।