काठमाडौं, २४ बैशाख । प्रभु साह नेतृत्वको आम जनता पार्टीले शैक्षिक आन्दोलनलाई निरन्तरता दिएको छ । विद्यार्थीहरुको अनुपातमा शिक्षकहरुको अनुपात राखिनुपर्ने मागसहित आम जनता पार्टी आन्दोलित बनेको हो ।
आज (सोमबार) मोर्चाले बारा, रौतहटलगायतका जिल्लामा प्रदर्शन गरेको हो । मोर्चाका अगुवाहरुले आजै प्रमुख जिल्ला शिक्षा अधिकारीलाई भेटेर ज्ञापनपत्रसमेत बुझाएका हुन् । आफूहरुको माग पूरा नभए आगामी दिनमा थप सशक्त आन्दोलन गर्ने मोर्चाका संयोजक विवेक साहले चेतावनी दिए ।
विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दीको आपूर्ति गर्न आम जनता पार्टीले सप्तरीमा पनि जिल्ला प्रशासन कार्यालयमार्फत संघ र प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ । शिक्षा ऐनविपरीत गरिएको शिक्षक दरबन्दीको असमान वितरण खारेज गर्नेलगायतका मागसहित बुझाईएको ज्ञापनपत्र कार्यक्रममा आम जनता पार्टीका केन्द्रीय उपाध्यक्ष उपेन्द्र साह सहित सयौंको संख्यामा नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।