Logo

जसपा नेपाल विभाजनले रास्वपामा पनि बढ्यो आशंकाः संसदीय दलको बैठक आह्वान



काठमाडौं, २४ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ । रास्वपाले भोलि (मंगलबार) विहान ८ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो । बैठकमा आसन्न संसद्को बजेट अधिवेशन, सरकारका कामकारबाही, हालै सम्पन्न उपनिर्वाचन र समसामयिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ ।

आगामी वैशाख २८ गतेका लागि संसद् बैठक आह्वान गरिएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रास्वपाका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री सहकारी ठगी प्रकरणमा संलग्न रहेको दाबी गर्दै छानविन समिति माग गरेको छ । कांग्रेसले संसदीय छानविन समिति माग गर्दै निरन्तर रुपमा संसद्मा विरोध गरेपछि अघिल्लो संसद् अधिवेशन अन्त्य गरिएको थियो । सहकारी ठगी प्रकरणमा संसदीय समितिको माग सम्बोधन नहुँदै आह्वान गरिएको संसद् अधिवेशनमा कांग्रेसले विरोध गर्ने निश्चित छ ।

साथै, हालै विभाजन भएको जनता समाजवादी पार्टी (जसपा) नेपाललाई लिएर अहिले प्रायः सबै राजनीतिक दलमा तरङ्ग पैदा भएको छ । रास्वपामा पनि एक समूह असन्तुष्ट रहेकाले जसपा नेपालको नजीर दोहोरिन सक्ने आँकलनसमेत राजनीतिकवृत्तमा छ । त्यस्तै, जसपा नेपालको फुटबाट तरङ्गित भएको नेकपा (एकीकृत समाजवादी) ले पनि आज संसदीय दलको बैठक आह्वान गरेर आफ्ना सांसदहरु माझ छलफल गरिसकेको छ ।

जसपा नेपाल फुटको रापतापले राजनीति तरङ्गित भइरहेको अवस्थामा रास्वपाले बोलाएको संसदीय दलको बैठकलाई विशेष चासोका साथ हेरिएको छ ।



प्रतिक्रिया दिनुहोस्