काठमाडौं, २६ बैशाख । आम जनता पार्टीले भन्सार विभाग घेराउलाई निरन्तरता दिएको छ । विभिन्न माग राखेर सुरु भएको आजपाको आन्दोलन अहिले चौथो चरणमा चलिरहेको छ । भन्सार कानूनमा रहेको कथित ४५ प्रतिशत पुरस्कारको लुटकारी प्रावधानविरुद्ध आजपाको आन्दोलन जारी छ ।
आज काठमाडौं उपत्यकामा झरी परेको थियो । सो झरीको प्रवाह नगरी आजपाका नेता तथा कार्यकर्ताहरु आन्दोलनमा सरिक भएका छन् । चौथो चरणको आन्दोलनको आज पाँचै दिन । उनीहरुले आफ्ना माग पूरा नभए आन्दोलन थप चर्काउने निर्णय लिएका छन् ।
उनीहरुले राजस्व सम्बन्धी सम्पूर्ण कानुनमा एकरुपता ल्याउनुपर्ने र भन्सार कानुनबाट पुरस्कारसम्बन्धी सम्पूर्ण प्रावधान हटाउनुपर्ने अडान लिएका छन् । यस्तै, भन्सार नियन्त्रणको नाममा निजी सम्पति लुट्ने काम पनि बन्द गर्नुपर्ने उनीहरुको माग छ ।
नाका-नाकामा भन्सार कार्यालय स्थापना एवं स्तरोन्नति गर्नुपर्ने आजापाको माग छ । यी माग पूरा नभएसम्म आन्दोलन नरोकिने आजपाको अडान छ । आजपाले अब अर्थमन्त्री वर्षमान पुन र प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध कडा आन्दोलन छेड्ने पनि तयारी गरेको छ ।