काठमाडौं, २६ बैशाख । बोल्ने र बोल्न चाहने प्रतिभाहरूलाई स्थान दिने हेतुले रियालिटी शो ‘द स्पिकिङ्ग टाइटन’ को घोषणा गरिएको छ । हिजो (मङ्गलवार) अल्फाबिटामा एक कार्यक्रमको आयोजना गरी उक्त शो’को घोषणा गरिएको हो । उक्त घोषणासँगै कार्यक्रमका लागि डिजिटल अडिसन समेत खुलाइएको छ ।
डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने ’द स्पिकिङ्ग टाइटन’ मा सहभागी हुनका लागि दामी एप र दामी मिडिया डटकममार्फत प्रतियोगीले आफ्नो प्रस्तुतिको भिडियो पठाउन सक्नेछन् । प्रतियोगिताको लागि विश्वभरबाट नेपाली भाषीले सहभागिता जनाउन सकिने जनाइएको छ । प्रतियोगीको उमेर कम्तीमा १५ वर्षको हुनुपर्ने, स्वतःस्फूर्त रूपमा बोल्न सक्ने क्षमतावान् हुनुपर्नेछ । त्यसपछि जज राउन्डबाट उत्कृष्ट प्रतियोगी चयन गरी फिजिकल अडिसनका लागि निमन्त्रणा गरिने आयोजकले जनाएको छ ।
’द स्पिकिङ्ग टाइटन’मा निर्णायकको रूपमा दिलभूषण पाठक, माल्भिका सुब्बा र रञ्जित आचार्य रहने जानकारी गराइएको थियो भने कार्यक्रम सञ्चालक तथा मेन्टरको रूपमा सौनक भट्ट रहने भएका छन् । ’द स्पिकिङ्ग टाइटन’ को अमन प्रताप अधिकारीले निर्देशन गर्ने भएका छन् ।
कार्यक्रमको ब्रोड्कास्टिङ्ग पार्ट्नरको रूपमा टेलिभिजन तर्फ प्राइम टेलिभिजन तथा डिजिटलतर्फ ओएसआर रियालिटी र दामी म्युजिक रहेको छ । कार्यक्रम जेठको अन्तिम सातादेखि टेलिभिजनमा प्रसारण गरिने निर्माण पक्षले जनाएको छ ।