काठमाडौं, ३१ वैशाख । दृष्टिविहीन र अपाङ्गता भएका व्यक्तिहरुले राज्यले आफूहरुलाई नागरिकको रुपमा व्यवहार नगरेको बताएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले नेपालको संविधानले दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिहरुको हक आधिकार सुनिश्चित गरेको भएपनि व्यवहारमा लागू नभएको बताएका हुन् ।
काठमाडौं महानगरपालिकाले दृष्टिविहीनहरुलाई आफ्नो कला र प्रतिभाको प्रस्फुट गरेर जीविकोपार्जन गर्न नदिएको उनीहरुको गुनासो छ । दृष्टिविहीनहरुमाथि स्थानीय तहले दमन गरेको उनीहरुको गुनासो छ । ‘विशेषतः आफ्ना कला र प्रतिभालाई प्रस्फुटन गर्दै, जनताको मन जितेर पाएको थोरै रकमले जिविकोपार्जन गरिरहेका हामीमाथि दमन भइरहेको छ । यस्ता गतिविविधबाट हामी अत्यन्त पीडित भएका छौं । हामीसँगको विकल्प अरु केही छैन । हाम्रो गाँस, बास र कपास अत्यन्त अन्यौलमा छ,’– पीडित दृष्टिविहीनले भने ।
आफूहरु गाँस, बास र कपासका लागि संघीय सरकारलाई नै घच्घच्याउने गरी आन्दोलनको तयारीमा रहेको दृष्टिबिहीनहरुले बताए । दृष्टिविहीनहरुलाई राज्यले योग्यता र क्षमताको आधारमा रोजगारी दिनुपर्ने, अशिक्षित दृष्टिविहीनहरुलाई उपयुक्त सीपमुलक तालिमको व्यवस्था गरेर उनीहरुले उत्पादन गरेको सामाग्रीहरुको बजार व्यवस्थापन राज्यले गर्नुपर्ने उनीहरुको माग छ ।
राज्यले रोजगारी, सीपमुलक तालिमको व्यवस्था गर्न नसकेको खण्डमा दृष्टिविहीनको सिंगो परिवार चल्न सक्ने गरी जीवननिर्वाह भत्ताको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ । सडक संघर्ष समितिका भोजराज श्रेष्ठले संविधानको भावनाअनुसार ऐन र नियमावली बनेपनि अपाङ्गता भएका व्यक्तिहरुको समस्या यथावत रहेको बताए । अन्तर्राष्ट्रिय फोरमहरुमा सरकारले अपाङ्गता भएका व्यक्तिहरुको समस्या सबै समाधान भइसकेको भनेर दस्ताबेज पेश गरेपनि आफूहरुलाई सरकारले हेलचक्र्याइँ गरेको उनले बताए ।
अति अशक्त तथा अपाङ्गता भएका व्यक्ति दीपक भण्डारी १५औं दिनदेखि अनशनरत रहेका बताइएको छ । आफूहरुले उनको जीवनरक्षाका लागि विभिन्न आन्दोलन सुरुवात गर्न लागेको उनको उनले बताए । दीपक भण्डारीको जीवन रक्षाका लागि सरकारलाई दवाब दिन उनीहरुले बुधबार २ गते विहान ९ बजेदेखि ११ बजेसम्म माइतीघरमा सडक जाम र ६ गते ९ बजेदेखि ११ बजेसम्म चक्काजामका कार्यक्रम घोषणा गरेका छन् ।