काठमाडौं, १ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले विरोधीहरुलाई आक्रमक भएर जवाफ दिन निर्देशन दिएका छन् । आज (मंगलबार) जारी पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले विरोधीले फैलाएको भ्रमलाई आक्रमक भएर चिर्न निर्देशन दिएका हुन् । एमालेका मान्छेहरुले एकीकृत समाजवादीको अस्तित्व समाप्त हुँदैछ, एमालेमा विलिन हुँदैछ, माओवादीमा जाँदैछलगायतका हल्ला फैलाएको उनले बताए ।
त्यस्ता प्रकारका भ्रमहरुलाई आक्रमक भएर काउन्टर दिन उनले निर्देशन दिँदै उनले भने, ‘हामी आफैं स्वच्छ छविका पनि छौं । तर, छौं भनेर हुँदोरहेन छ । विरोधीहरु हुन्छन्, तिनलाई मुखभरीको जवाफ दिनेगरी हाम्रा कार्यकर्ताहरुमा आक्रमकता पनि चाहिन्छ । हाम्रो पार्टीमा जुन किसिमको राजनीतिक आक्रमता हुनुपर्ने हो, त्यो देखिँदैन । विरोधीले यस्तो पो भन्छ, एमालेका मान्छेले भन्दैछन्, अब त यो पार्टीको अस्तित्व समाप्त हुँदैछ । अब विलिन हुन्छ एमालेमा भन्दैछन् । माओवादीमा पो जान गइरहेको छ, यो पार्टी विघटनको संघारमा उभिइरहेको छ । यस्तै–यस्तै तपाईहरुले विभिन्न हल्लाहरु सुनिरहनु भएको छ ।’ File Photo/RN