Logo

हरिचौर–मल्म सडक निर्माणमा ढिलाइ



गलकोट (बागलुङ), १ जेठ । बागलुङको क्षेत्र नं २ मा पर्ने हरिचौर–मल्म–पाण्डवखानी सडक निर्माणमा ढिलाइ भएको छ । एउटै समयमा ठेक्का सम्झौता भएको बागलुङ बजार अदालत चौपारी–सिगाना–चापाखर्क–गाजाको दहहुँदै बरेङ शान्तिपुर सडकको बोक्से–सिगाना खण्डमा भने ५० प्रतिशतभन्दा बढी काम भइसकेको छ ।

सडक निर्माणको सम्झौता गरेको दुई वर्ष पुग्न लाग्दा हरिचौर–मल्म–पाण्डवखानी सडकको भौतिक प्रगति जम्मा २५ प्रतिशत मात्रै भएको छ । सडक निर्माणको जिम्मा पाएको वल्र्डवाईड/लोपूर्ण जेबी निर्माण कम्पनीले सडक निर्माणको कामलाई तीव्रता दिन नसक्दा समयसीमाभित्रै काम सकिनेमा स्थानीयवासी ढुक्क छैनन् । कामलाई निरन्तरता दिइए पनि गति सुस्त रहेको गलकोट नगरपालिका–७ का वडाध्यक्ष राज थापाले बताए ।

“दुई वर्षमा सडक स्तरोन्नतिको काम सम्पन्न हुनुपर्ने थियो, अहिलेसम्म तीन किलोमिटर सडक मात्र स्तरोन्नति गरिएको छ”, उनले भने । एक निर्वाचन क्षेत्र एक रणनीतिक सडकअन्तरगत बागलुङ, म्याग्दी र मुस्ताङमा सञ्चालित चार ठूला सडकमध्ये सबैभन्दा कम काम हरिचौर–पाण्डवखानी सडक खण्डमा भएको वडाध्यक्ष थापाले जानकारी दिए ।

सडक निर्माणको जिम्मा पाएका निर्माण व्यवसायीलाई कामको गति बढाउन पटक–पटक आग्रह गर्दै आएको सडक डिभिजन कार्यालय बागलुङका प्रमुख अनुक्षा घिमिरेले जानकारी दिए । “चालु आर्थिक वर्षको ६ महिनासम्म अर्थमन्त्रालयले बजेट नपठाउँदा निर्माण व्यवसायीलाई ताकेता गर्न सकेका थिएनौँ, अहिले काम गर्न सके भुक्तानीको समस्या हुन्न”, उनले भने ।

उक्त सडकको २०७९ भदौमा रु २५ करोड २० लाखमा ठेक्का सम्झौता गरिएको थियो । उक्त खण्डको सुरुको हरिचौर–मल्लसम्मको आठ किमि सडक कालोपत्र सक्नेगरी सम्झौता भएको थियो । अहिले हरिचौरबाट भैँसेसम्मको सडक स्तरोन्नति सकिएको र बाँकी अफ्ठ्यारा काम सकिने चरणमा रहेको निर्माणमा संलग्न कम्पनीका प्रतिनिधि अमिन लामाले बताए ।

“भुक्तानी समस्याका कारण कामले गति लिन सकेको थिएन, अहिले काम धमाधम भइरहेको छ”, उनले भने । सडक कालोपत्र भएपछि बागलुङको गलकोट नगरपालिका र बडिगाड गाउँपालिकाहुँदै निसीखोला गाउँपालिका जोड्न सहज हुने छ । उक्त सडक झण्डै ४० किलोमिटर लामो छ । रासस



प्रतिक्रिया दिनुहोस्