Logo

रोजगारी सिर्जनासम्बन्धी अन्तरक्रिया



विराटनगर, २ जेठ । युवा रोजगार अभिवृद्धि तथा प्रवर्द्धनका लागि निजी क्षेत्र र सरोकारवाला निकायबीच आज यहाँ अन्तरक्रिया सम्पन्न भएको छ ।

विराटनगर महानगरपालिकाको नमूना रोजगार सेवा केन्द्रद्वारा आयोजित अन्तरक्रियाका सहभागीहरुले रोजगारी सिर्जनामा ध्यान दिनुपर्नेमा जोड दिए । विकास निर्माणलाई तीव्र रुपमा अगाडि बढाएमा रोजगारी सिर्जना हुने उनीहरुको भनाइ थियो ।

महानगरपालिकाले रोजगारीको खोजीमा रहेका युवा र रोजगारदाताबीच पुलको काम गर्ने गरेको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले बताए । वडा नं १९ का अध्यक्षसमेत रहेका घिमिरेले महानगरले सञ्चालन गरेको रोजगार मेला कार्यक्रममा रोजगारदाता र रोजगारीको खोजीमा रहेका करिब चार हजारभन्दा बढी सहभागी भएको बताए ।

आर्थिक महाशाखा प्रमुख दीपक पौडेलले रोजगारीको खोजीमा नमूना रोजगार सेवा केन्द्रमा आउने युवालाई रोजगारदातासित जोड्ने गरेको जानकारी दिए।

कार्यक्रममा रोजगार सहायक सरस्वती साहले नमूना रोजगार सेवा केन्द्रले गरिरहेका कार्यप्रगति प्रस्तुत गरे । उनले सय दिने रोजगारीअन्तर्गत यस वर्ष ७६ जनालाई १० वटा वडामा विभित्र योजनामा सहभागी गराएको बताए । थप ५१ जनालाई बारिष्ठा, गार्मेन्ट र विद्युतीय सवारी साधन मर्मत तालिम दिएको उनले जानकारी दिए । तालिम लिएकामध्ये ५० प्रतिशतभन्दा बढी स्वरोजगार भइसकेको साहको भनाइ छ ।

आइएलओका प्रतिनिधि सौरभराम जोशी र ‘एक्सन फर डेभलप्मेन्ट’का महेन्द्र प्रसाईंले रोजगारी अभिवृद्धिका लागि स्थानीय सरकारसित सहकार्य गर्न तयार रहेको बताए ।

उद्योग सङ्गठन मोरङका महानिर्देशक चूडामणि भट्टराईले रोजगारी सिर्जनाका लागि सबै मिलेर परिणामुखी काम गर्नुपर्नेमा जोड दिँदै छलफल र अन्तरक्रियाले मात्रै नहुने यसका लागि योजनाबद्ध रुपमा काम गर्नु आवश्यक रहेको औँल्याए । रासस



प्रतिक्रिया दिनुहोस्