काठमाडौं, २ जेठ । बागलुङको वडीगाउ गाउँपालिका–८ का यमबहादुर घर्तीले आफूलाई जापान सरकारले अनाहकमा ५ महिना बन्दी बनाएर क्षतिपूर्ति नदिएको बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले जापान सरकारले आफूलाई चोरी अभियोगमा झुठा मुद्दा चलाएर ५ महिना कारागारमा राखेको र अन्तमा सबै अदालतबाट सफाइ पाउँदापनि क्षतिपूर्ति नदिएको गुनासो पोखेका छन् । उनले क्षतिपूर्तिका लागि जापानस्थित नेपाली दूतावासले कुनै पहल नै नगरिदिएको गुनासो गरे ।
यमबहादुरका अनुसार उनी सन् २०१६ मा वर्किङ भिसामा जापान गएका थिए । त्यसपछि उनी जापानमै काम गरिरहेका थिए । सन् २०१९ जनवरी ५ मा उनलाई त्यहाँको प्रशासनले कामबाट फर्किने क्रममा पक्राउ गरेको थियो । पक्राउ गरेर हिरासतमा राख्दै गर्दा धेरै मानसिक यातना दिएको उनको भनाइ छ । आफूलाई हिरासतबाट एक हप्तापछि रिहा गरिएको भएपनि गेटबाटै पुनः पक्राउ गरिएर ५ महिनासम्म कारागार राखिएको उनले जनाए ।
आफूलाई नेपालबाट स्पेशल चोरी गर्न आएको आरोप लागेको उनको भनाइ छ । साथै, विल्डिङ्ग र रेष्टुरेन्ट तोडफोड गरी चोरी गरेको आरोपमा समेत आफूमाथि मुद्दा चलाइएको उनको भनाइ छ । नियोजित र निराधार रुपमा आफूमाथि त्यहाँको सरकारले मुद्दा चलाएको उनको भनाइ छ ।
चोरी आरोप पुष्टि हुन नसकेपछि जापानका सबै अदालतले आफूलाई सफाई दिएको उनले बताए । जापान सरकारको नियमानुसार मुद्दा लगाइसकेपछि आरोप पुष्टि नभएमा क्षतिपूर्ति दिनुपर्ने व्यवस्था रहेको उनको दाबी छ । आफू २०१९ मै सफाई पाएर नेपाल आएको भएपनि अहिलेसम्म क्षतिपूर्ति नपठाइएको उनले बताए । आफूले पाउने क्षतिपूर्तिका लागि पहल गरिदिन उनले नेपाल सरकारलगायत सरोकारवाला निकायहरुसँग अपिल गरेका छन् ।