काठमाडौं,८ जेठ । विभिन्न सहकारीको रकम अपचलन प्रकरणमाथि छानबिन गर्न बन्ने संसदीय समितिको कार्यादेश (टीओआर) मा दलहरू सहमतिनजिक पुगेका छन् ।
सिंहरदबारस्थित कानुन मन्त्रालयमा मंगलबार बिहान बसेको बैठकमा टीओआरबारे दलहरू सहमतिनजिक पुगेका छन् । अहिले सहमतिको ड्राफ्ट गर्ने कार्य भइरहेको स्रोतले जनाएको छ ।
सत्ता र प्रतिपक्ष दलले गत शनिबार सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको थियो । सो सहमति अनुसार समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदल गठन गरिएको थियो ।
नेकपा एमालेका नेता एवम् कानुनमन्त्री पदम गिरीको नेतृत्वमा गठित कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् ।
यसअघि आइतबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले आफू सहकारी ठगीमा संलग्न नरहेको भन्दै छानबिन समितिको सामना गर्न तयार रहेको बताएका थिए ।