Logo

मनोनित स्ववियू परिषद् अध्यक्ष नस्वीकार्ने नेविसंघ नेताहरुको चेतावनी, निर्णय सच्याउन नेतृत्वलाई सुझाव (भिडिओसहित)



काठमाडौं, १८ जेठ । नेपाल विद्यार्थी संघबाट विभिन्न क्याम्पसमा निर्वाचित भएका स्वतन्त्र विद्यार्थी युनियनका सभापतिहरुले केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले मनपरी ढंगले स्ववीयू परिषद्मा नियुक्ति गरेको भन्दै आपत्ति जनाएका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले केन्द्रीय अध्यक्ष शेर्पाले गलत निर्णय लिएको बताए ।

शंकर देव क्याम्पसका स्ववियू सचिव मदनराज उपाध्यायले स्वतन्त्र विद्यार्थी युनियन आफैंमा निर्वाचित संस्था भएकाले स्ववियू परिषद् पनि निर्वाचित हुनुपर्ने बताए । आफूहरु लोकतान्त्रिक प्रक्रियालाई मान्ने र स्ववियू परिषद्को निर्वाचन जित्ने जोसुकैलाई अध्यक्ष मान्न तयार रहेको बताए ।

कैलाश कुट क्याम्पस स्ववियू सभापति शुवर्ण गौतमले नेविसंघभित्रको गलत प्रवृत्तिले संगठनलाई एनजीओजसरी चलाउन खोजेको टिप्पणी गरे । १४ वर्षपछि भएको स्ववियू निर्वाचनबाट नेविसंघ पहिलो भइरहँदा पनि नेविसंघ केन्द्रीय समितिले स्ववियू परिषद्को चुनाव गराउन नसकेको भन्दै आपत्ति जनाए । उनले केन्द्रीय अध्यक्ष शेर्पाले आफूनिकट मान्छेहरुलाई नियुक्त गरेको बताए ।

सरस्वती बहुमुखी क्याम्पसका स्ववीयू सभापति मुस्कानराज गौतमले स्ववियू परिषद्को अधिवेशन हुनुपर्ने बताए । नेविसंघका केन्द्रीय अध्यक्ष शेर्पाको मनोमानी आफूहरुलाई स्वीकार्य नरहेको बताए ।

त्यस्तै, पब्लिक युथ क्याम्पसका स्ववियू सभापति नविन पाण्डेले स्ववियू परिषद् वैधानिक तरिकाले हुनुपर्ने बताए । उनले नेविसंघका केन्द्रीय अध्यक्ष शेर्पाले अलोकतान्त्रिक तरिकाले आफ्नो पकेटको मान्छेलाई स्ववियू परिषद् जिम्मा लगाएको उनको आरोप छ । पाण्डेले अधिवेशनमार्फत स्ववियू परिषद्को अध्यक्ष चुनिनुपर्ने पक्षमा नेविसंघबाट निर्वाचित भएका ८५ भन्दा बढी सभापतिहरुको बहुमत रहेको बताए । जसरी भएपनि स्ववियू परिषद्को अधिवेशन गराएरै छाड्ने उनको भनाइ छ ।

शंकरदेव क्याम्पस स्ववियू सभापति शुसान्त बस्नेतले स्ववियू परिषद्को अधिवेशन कुनै पनि हालतमा हुनुपर्ने बताए । नेविसंघ केन्द्रीय अध्यक्ष शेर्पासँग हिसाबकिताब गर्न आफूहरु तयार रहेको पनि उनले बताए । उनले देशभरीको स्ववियू सभापतिहरुको भेला बोलाएर नेविसंघ केन्द्रीय कार्यालयमा हस्तक्षेप गरी आफैंलाई नेविसंघको केन्द्रीय अध्यक्ष घोषणा गराउने समेत चेतावनी दिए ।

स्ववियू परिषद्का अध्यक्ष एवं नेविसंघका केन्द्रीय सदस्य निराजन नेपालले नेविसंघका अध्यक्ष शेर्पाविरुद्ध विद्रोह गर्ने बताए । अध्यक्ष शेर्पाले सञ्जय बुढाथोकीलाई स्ववियू परिषद्को अध्यक्षमा मनोनित गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्