काठमाडौं, १९ जेठ । नेकपा (एमाले) की सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालले गिरीबन्धु टि स्टेट जग्गा प्रकरणमा आफू्रहरुको कुनै संलग्नता नरहेको बताएकी छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गिरीबन्धु प्रकरणमा आफू र एमाले नेतृत्वको रौं बराबरपनि संलग्नता नरहेको बताईन् । उनले उक्त प्रकरणको कुनै प्रमाण फेला परेको खण्डमा आफू सजाय भोग्न तयार रहेको र एमालेले समेत त्यसको जिम्मेवारी लिने बताईन् ।
‘गिरीबन्धु टि स्टेटको बारेमा केही जातै भएको छैन । एउटा रौं पनि दोष छैन । अनावश्यक हाम्रो पार्टी अध्यक्षलाई लाक्षित गर्ने, म त त्यो मन्त्रालयमा छँदै थिईन । अनि मेरोसमेत फोटो टास्ने जे भइरहेको छ । कसैको तागत छ भने, कसैले त्यस्तो केही देखेको छ भने किन हेरेर बसेको ? हामीले धेरै पटक भनिसक्यौं, कहाँ लाने हो लैजाउ न,’– उनले भनिन् ।
एमालेलाई नियतबस गिरीबन्धु टि स्टेटमा मुछिएको उनले बताईन् । उनले आफूहरुको संलग्नता पुष्टि गरेर कठघरामा उभ्याउन उनले चूनौति दिईन् । ‘गिरीबन्धु टि स्टेटको बारेमा हाम्रो सरकारको पालामा एक इन्च जग्गा तलमाथि भएको छैन । यो नियतबस गरिँदैछ । केही छ भने एक सेकेन्ड हामीलाई बाहिर नराख, कहाँ कठघरामा उभ्याउन पर्ने हो ? उभ्याउ । इतिहासमा हाम्रो पालामा कहिले पनि केही भएको छैन, एक इन्च जग्गा तलमाथि भएको छैन । टि स्टेट कसैको नाममा दिने निर्णय भएको छैन । कसैले जग्गा लगेको भन्ने प्रमाणित भयो भने त्यसको भागिदार नेकपा (एमाले) हुन्छ,’– उनले भनिन् ।