Logo

मधेश सरकार छाड्दै एकीकृत समाजवादी, २ मन्त्रीले आजै राजीनामा बुझाउने



काठमाडौं,२० जेठ । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले अल्पमतमा परेको मधेश प्रदेश सरकार आज छाड्ने भएको छ । नेकपा एसबाट मन्त्री रहेका २ मन्त्रीले आज राजीनामा दिँदैछन् ।

जसपाका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेपछि एकीकृत समाजवादीले आफ्नो पार्टीबाट मन्त्री भएकाहरूलाई फिर्ता बोलाउने तयारी गरेको हो । यादव नेतृत्वको सरकारमा रहेका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुङ्गेलीलाई फिर्ता बोलाउने तयारी गरेको हो ।

मधेश सरकारबाट नेकपा एमाले र माओवादी केन्द्र यसअघि नै बाहिरिसकेका छन् । नेकपा एसले पनि आज सरकार छाडेपछि यादव थप संकटमा परेका छन् । उनले वैशाख २९ गतेभित्रमा विश्वासको मत लिईसक्नुपर्ने हुन्छ । तर, अहिलेकै परिस्थितिमा उनले विश्वासको मत पाउने सम्भावना छैन् ।

यसैबीच भागबण्डा मिलेसँगै मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि जनमत पार्टीले आज मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने भएको छ ।

जनमत पार्टीका एक नेताका अनुसार जनमतले प्रदेश प्रमुख सुमित्रा भण्डारी समक्ष आज दाबी पेश गर्ने तयारी गरेको छ ।

मुख्यमन्त्री पाउने भएपनि जनमतले कसलाई अघि सार्ने भन्नेबारे अझै निर्णय गर्न सकेको छैन । मधेस प्रदेश संसदीय दलको नेता महेश यादव भएपनि जनमत भित्र यादव बाहेकलाई मुख्यमन्त्री बनाउनु पर्ने भन्दै नेताहरुले अध्यक्ष सिके राउतमाथि दबाब बढाएका छन् ।

यादव संसदीय दलका नेता छन् भने प्रदेश सभामा सांसद रहेका चन्दन सिंह केन्द्रीय महासचिव हुन् । अध्यक्ष राउतले पहिलो चरणमा सिंहलाई मुख्यमन्त्रीमा अघि सार्ने र यादवलाई राम्रो मन्त्रालय दिने तयारी गरेका छन् ।

१०७ सदस्यीय प्रदेशसभामा नयाँ सरकार गठननको लागि ५४ जना प्रदेससभा सदस्यको समर्थन आवश्यक पर्छ । जनमतको नेतृत्वको सरकारलाई बहुमत पुर्याउन लोसपाको पनि साथ जरुरी देखिन्छ । लोसपाका ८ सांसद छन् । एमालेका २५, जनमतका १३ र माओवादी केन्द्रका ९ जना सांसद छन् । एकीकृत समाजवादीका ७ सांसद छन् ।



प्रतिक्रिया दिनुहोस्