काठमाडौं, २० जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरु मधेश प्रदेश सरकारका बारेमा निश्कर्षमा पुगिनसकेको बताएका छन् । आज (आइतबार) आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले मधेश प्रदेशको वर्तमान सरकार पहिलेकै सत्ता समीकरणमा सहभागी दलहरुकै निरन्तरता रहेको बताए । अध्यक्ष नेपालले जनता समाजवादी पार्टी नेपाल विभाजन भइसकेपछि एउटा पक्षलाई सरकारबाट बाहिरिन बाध्य पारिएको बताए । सो क्रममा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल बाहिरिँदा आफूहरु मधेश प्रदेशमा प्रतिपक्षीको सरकारमा सहभागी भएको जस्तो देखिएको बताए अध्यक्ष नेपालले नेपालको राजनीतिमा एकीकृत समाजवादीको उपस्थिति, भूमिका, आवस्यकता सबैले महशुस गरिरहेको बताए ।
‘हामी केन्द्रीय सरकारमा सहभागी रहेका छौं । त्यसैगरी, मधेश प्रदेशको सरकारमा प्रतिपक्षीहरुसँग रहेका छौं । यसो हुनाले के हुन्छ त भन्ने प्रश्न उठ्नु स्वभाविक पनि हो । पहिलेदेखि नै जनता समाजवादी पार्टीसँग सहकार्य हुँदै आएको थियो । त्यही सहकार्यको शिलशिलामा त्यो सरकारमा हामी रहेका हौं । त्यसपार्टीका अध्यक्ष उपेन्द्र यादवजीसँग लामो समयसम्म सहकार्य हुँदै गएको पनि हो । सहाकार्य हुँदै जानेक्रममा जनता समाजवादी पार्टीबाट उपराष्ट्रपतिदेखि लिएर उपनिर्वाचनमा उपेन्द्र यादवलाई विजयी गराएर अनेक कुरामा हामी सँगसँगै अगाडि बढिरहेको हो । त्यही सरकारको विद्यामानताको अवस्था छ,’– अध्यक्ष नेपालले भने, ‘जनता समाजवादी पार्टी विभाजन भयो । एउटा घटकलाई सरकार छोड्नका लागि भनियो । सरकार छोडेर विपक्षमा गइसकेपछिको स्थिति हो । हामीसँग त्यसबारेमा कुनै कुराकानी, संवाद भएको थिएन । नेताहरुबीचमा संवाद र विश्वास चाहिन्छ ।’
एकीकृत समाजवादीले दुईवटा नाउमा खुट्टा नराख्ने पनि उनको भनाइ छ । मधेश प्रदेशलाई पहिलेदेखिकै सरकारको निरन्तरताको रुपमा लिनुपर्ने उनले बताए । मधेश सरकारका विषयमा के गर्ने भन्ने कुरा पार्टीको बैठक र छलफलपछि निश्कर्षमा पुगिने उनले बताए । ‘हाम्रो पार्टीले के गर्ने हो ? अन्तिम निर्णय गर्न बाँकी छ । हाम्रो पार्टी संस्थागत निर्णयमा चल्छ । बाटोघाटोमा निणर्य गर्दैन,’– उनले भने । Photo By: Mukunda Kalikote/Reporters Nepal