काठमाडौं, २१ जेठ । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि संसद्मा पेश गरेको बजेटमा सबै सत्तारुढ दलको साझा अनुहार आउन नसकेको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले देशको सिंगो समस्यालाई साझा ढंगबाट समाधन खोज्न सक्नेगरी बजेट नआएको बताएका हुन् ।
साथै, उनले बजेटमा छिर्केमिर्के र टाटेपाटे राँटाहरु रहेको बताए । उनले सत्तारुढ दलहरुसँग सल्लाह गरेर बजेट ल्याउन नसकिएको उनले बताए । बजेटका कतिपय पक्षहरु राम्रा भएपनि धेरैजसो पक्षमा चूनौति रहेको उनले बताए ।
‘हामीले हाम्रो संसदीय दलको बैठकमा यो बजेटसँग सम्बन्धित विषयमा माननीय सदस्यहरुका पनि कतिपय सुझावहरु रहे । त्यसको जवाफका क्रममा अध्यक्षज्यूले यो बजेट सबै दलहरुको साझा अनुहार देखिने गरी, सिंगो देशको आजको समस्यालाई साझा ढंगबाट समाधान गर्न प्रयत्न गरेको छ भन्ने फिलिङ्स दिनेगरी ल्याउन सकिएन भन्ने कुराको हाम्रो सुझाव हो । यसमा छलफल भएन भन्ने कुरा हाम्रो भनाइ हो ।’ उनले भने, ‘यसका कतिपय कुरा छलफल गरेको हुन्थ्यो भने कतिपय विषयवस्तुलाई व्यवस्थित गर्न सक्थ्यौं । आम रुपमा भन्दा यो बजेटमा छिर्केमिर्के टाटेपाटे राँटाहरु बाँकी छन् । विशेषगरी सत्तासीन दलहरुका बीचमा छलफल चलेको भए यी राँटाहरुलाई हामीले मेट्थ्यौं । त्यो अवसर प्राप्त हुन सकेन ।’
बजेटका बारेमा आफ्ना भनाइहरु राखेर र सुझाव दिएर जे–जस्तो भएपनि यो बजेटलाई राजनैतिक, सैद्धान्तिक र व्यवहारिक हिसाबले यो बजेटलाई एमालेले स्वीकार गरी पारित गर्ने पनि उनले बताए ।