Logo

‘संसद् रमाइलो छैन्, छलफलको कुरा सुन्दा वाक्क लागेर एकछिन निदाएछु !’



काठमाडौं,२१ जेठ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ऋण लिएर संघीयता धान्ने कुरा सम्भव नभएको दाबी गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै केसीले संघीयता देशले धान्न नसक्ने प्रष्ट भईसकेको हुँदा अझ ऋण लिएर देश चलाउने कुरा कल्पना भन्दा बाहिर भएको बताए ।

‘साधारण तर्फको बढ्दो बजेट भोलुमको मुख्य कारण संघीयता हो । संघीयताका कारणले साधारणतर्फको खर्च बढेको छ । साधारणतर्फ बढेको खर्चलाई पूर्ति गर्न करको दायरा वर्षैपिच्छे बढाउनुपरेको छ । जसको परिणाम नेपाली जनतामाथि अनावश्यक प्रकारको आर्थिक बोझ थपिदै गएको छ । त्यसैले संघीयतालाई कायम राखेर साधारणतर्फको खर्च घटाउन सकिन्न । र मुलुकलाई संघीयताका कारण उत्पन्न बोझबाट मुक्त गर्न सकिन्न’, उनले भने ।

फरक प्रशंगमा पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीले बजेट माथिको छलफल रमाईलो नभएको बताए । उनले बजेटमाथिको छलफल सुनेर आफू नै निदाएको बताएका छन् । “जतिसुकै उफ्रिए पनि अर्थमन्त्रीले ल्याएको बजेटमा तलमाथि गर्न नपाइने, जे आएको छ त्यही स्वीकार गर्नुपर्ने भएपछि त्यसका छलफलको त्यति औचित्य लाग्न छोड्यो,” उनले भने, “म त यही छलफलको कुरा सुन्दा वाक्क लागेर एकछिन निदाएछु । संसद् रमाइलो छैन ।”



प्रतिक्रिया दिनुहोस्