Logo

मुलुकमा बढ्दै गएको निराशालाई निर्मूल गर्न बजेट सकारात्मक छ : सांसद डा. महतो (भिडिओसहित)



काठमाडौं, २१ जेठ । जनता समाजवादी पार्टीका प्रभावशाली नेता तथा सांसद डा. वीरेन्द्र प्रसाद महतोले अहिले मुलुकमा बढ्दै गएको निराशालाई निर्मूल गर्नको लागि आर्थिक वर्ष २०८१/०८२ को बजेट केही हदसम्म सकारात्मक रहेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आज (सोमबार) को बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद महतोले यस्तो बताएका हुन् ।

उनले अर्थमन्त्री वर्षमान पुनले अत्यन्तै प्रतिकुल परिस्थितिमा बजेट ल्याएको र बजेटले समस्यालाई सम्बोधन गर्ने प्रयत्न गरेको सुनाए । उनले यसपालिको बजेटले समग्र क्षेत्रलाई समेट्न खोजेको पनि बताए । बजेटमा सकारात्मक र सुधार गर्नुपर्ने कुरा दुवै रहेको उनको भनाई छ । उनले बजेटको कार्यान्वयन पक्ष नै चूनौति भएकोले यसतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने सुझाव दिए ।

महतोले भने,‘यसपालिको बजेट वक्तव्यमा समग्र रुपमा सबै क्षेत्रलाई समेट्ने कोशिस गरेको देखिन्छ । बजेटका उद्देश्यहरु, प्राथमिकता तथा सुधारका रणनीतिहरु स्पष्ट रुपमा आएका छन् । बजेटमा लेखेका कार्यक्रमहरुलाई कार्यान्वयन गर्नमात्रै सकियो भने यसको प्रभावकारिता बढ्नसक्ने देखिन्छ ।’

बजेटको सकारात्मक पक्षको चर्चा गर्दै महतोले स्वदेशी उत्पादन प्रोत्साहन गरिनु सुखद् पक्ष भएको औंल्याए । उनले भने,‘निजी क्षेत्रसँगको सहकार्यमा मेक इन नेपाल र मेड इन नेपाल कार्यक्रम अघि सारिएको छ, जसले स्वदेशी उत्पादनमा लगानी बढाई नेपाली बस्तुको उत्पादन गुणस्तरमा अभिवृद्धि हुनेछ ।’

बजेटमा निर्यातलाई प्रवद्र्धन गर्न करमा सहजता प्रदान खोजेको भन्दै बजेटको सकारात्मक पक्षको महतोले प्रशंसा गरे । सांसद महतोले बजेटको आय लक्ष्य पूरा हुनको लागि बैकिंङमा रहेको तरलता बिस्तारै बजरामा जान, पुँजी बजार र रियल स्टेटमा आशाको किरण ल्याउन जरुरी रहेको सुझाव दिए । अहिलेपनि ऋण तिर्नको लागि ऋण लिनुपर्ने अवस्था रहेको भन्दै गत वर्षको तुलनामा प्रति व्यक्ति ऋण दायित्व ७८ हजारबाट बढेर ८२ हजार पुगेको उनको टिप्पणी छ ।

महतोले विगतमा नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिबीच तालमेल नहुँदा वा समझदारी कायम नहुँदा विभिन्न समस्या सिर्जना भएको दृष्टान्त पेश गर्दै आगामी दिनमा देशको वित्तिय प्रणालीलाई मझबुत बनाउको लागि पनि महत्वपूर्ण निकायबीच आम रुपमा समझदारी र समन्वय हुनुपर्ने आवश्यकत्ता औंल्याए । महतोले देशको आर्थिक विकास र समृद्धिको लागि शासकीय प्रणालीमा शिघ्र सुधारको जरुरी रहेको पनि बताए ।



प्रतिक्रिया दिनुहोस्