काठमाडौं, २३ जेठ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य प्रभु साहले विदेशको ग्रीन कार्ड लिएका धनाड्य ब्यापारी र राज्यको उच्चपदस्थ अधिकारीहरुले नेपालको खर्बौं रकम अवैध ढंगले विदेश लगेको आरोप लगाएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले यसरी नेपालको पैसा विदेश लैजान नपाउने गरी अर्थ नीति आउनुपर्नेमा त्यो नभएको बताएका हुन् ।
‘देशका ठूल्ठूला धनाठ्यहरु, राज्यका उच्चपदस्थ अधिकारीहरु विदेशको ग्रीन कार्ड लिने, विदेशको नागरिकता लिने र नेपालको खर्बैं रकमहरु अवैध ढंगले विदेश पुर्याउने काम गरिरहेका छन् । यसलाई राज्यले रोक्नेगरी बजेट आउनुपर्थ्यो । यसमा नजरअन्दाज भएको मैले देख्दैछु,’– उनले भने ।
साथै, विदेशका कमदारहरुको रेमिट्यान्स हुण्डी कारोबारीहरुले लुटेको ब्ल्याक मनीसँग साटिरहेको पनि उनको भनाइ छ । उनले लाखौं मजदुरहरुले विदेशमा गएर काम गरेपनि त्यसको लाभ नेपालले लिन नसकेको बताए । उनले वैदेशिक रोजगारीमा गएकाहरुको घरमा हुण्डी कारोबारीहरुले ब्ल्याक मनी पुर्याइरहेको पनि बताए ।
साथै, नेपालको सम्पत्ति विदेशमा लान नपाउने गरी नीति आउन पर्नेमा त्यो नदेखिएको उनले बताए । उनले विदेशको नागरिकता लिइसकेका नेपालीको सम्पत्ति राज्यको नाममा आउनुपर्ने उनले बताए ।
उनले देशको अर्थतन्त्रलाई नयाँ उचाइ दिनेगरी बजेट आउनुपर्नेमा त्यो सम्भव नभएको बताए । उनले बजेटको समानुपातिक वितरणसमेत नभएको बताए ।