Logo

‘जमिनदारबाट लुकेर मध्यरातबाट सुरु गरेको आन्दोलन अझै जारी छ, हामी थाकिएका छैनौँ’



काठमाडौं, जेठ २५ । एक्सन एड इन्टरनेशनल नेपालको अगुवाइमा बँधुवा श्रमको अन्त्य विषयक अन्तर्क्रिरया कार्यक्रम सम्पन्न भएको छ । बिहीबार राजधानीमा आयोजना गरिएको कार्यक्रममा नीति निर्माता, सरकारका प्रतिनिधि, दातृ निकाय तथा मुक्त बँधुवा मजदुरहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै एक्सनएड नेपालका नीति तथा व्यापार विकासका प्रमुख सरोज पोखरेलले नेपालमा बँधुवा मजदुरीमा गरेको क्रियाकलाप बारेमा जानकारी गराए । सन् २००० मा कमैया मुक्तिको अभियान पश्चात् मुक्तिले झनै अन्याय बढाएको बताउँदै उनले मजदुरुहरुलाई श्रम बजारमा ढकलेको कारण अन्याय अन्त्य नभएर झन् बढाएको जनाए। उनले भने, ‘एक्सन एड यस विषयमा केही हदसम्म सफल भएता पनि कमैया मुक्त भएको २४ वर्षमा पनि उनीहरू पुनर्स्थापना हुन नसकेको छैन् । सरकारले मुक्त बँधुवा मजदुरहरूको समस्यालाई प्रतिबद्धता र आश्वासनमा सीमित गरेर कार्यान्वयन नगर्नु नै उनीहरू प्रतिको ठुलो धोका रहेको छ ।”

त्यस्तै, समस्या भोगेरै उद्धार भएकी डोटीकी खिना कोली भनिन्, ‘सरकारले गर्न नसकेको काम दातृ निकायबाट सफल भयो । डोटीमा नागरिकता बनाउनु पर्छ भन्ने ज्ञान पनि नभएको अवस्थामा एक्सन एड र इडिसिको सहयोगबाट नागरिकता मात्र नभएर पिछडिएको महिलालाई उद्धार समेत भएका छन् ।”

त्यस्तै बर्दियाकी अष्टुर्नी थारु भनिन् ‘५जनाको परिवार पाल्न निकै मुस्किल रहेको थियो, अवस्था नाजुक थियो, घरमा पढेलेखेको कोही थिएन, केही समूहमा आबद्ध भए पनि ऋण लिनलाई डर लाग्थ्यो, आयस्रोत थिएन यस्तालाई कसैले विश्वास समेत गर् थिएन । तर एक्सनएड लगायत संस्थाको सहयोगबाट आज मेरो घरमा छोराछोरी पढेलेखेको मात्र नभएर म एक सफल उद्यमी समेत भएको छु । एक्सनएडले मलाई स्वतन्त्रसाथै आत्मनिर्भर समेत बनाएको छ ।’

कार्यक्रममा कयौँ दशकदेखि सामाजिक आन्दोलनको अगुवाइ गर्दै आएका अगुवाहरूको आवाज पनि गुन्जिएको थियो । पुराना कुराहरूलाई मध्यनजर गर्दै उनीहरूको आक्रोश सरकारमाथि रहेको प्रस्ट पारेका थिए । भूमिसँग सम्बन्धित कमलरीको मुद्दा १ प्रतिशत पनि कार्यान्वयन नभएको कारण सरकारसँग सधैँ गुनासो नै गुनासो रहेको औँल्याएका छन् ।
कार्यक्रममा नगरीक अगुवाइहरुले २०५७ सालमा कमैया मुक्ति घोषणा गरेपछि ४ हजार ९ सय भन्दा धेरैले परिचय पत्र त पाए पनि परिचय पत्र बाहेक केही पनि नपाएकाले उनीहरूमाथि झन् अन्याय भइरहेको बताए ।

विश्वमा सन् १८६० मा दास प्रथा अन्त्य भएको थियो । दक्षिण एसियामा भुटानले १९९७ मा सबैभन्दा ढिलो दास प्रथा अन्त्य गरेको थियो । नेपालमा चन्द्रशमशेरको पालामा दासहरूलाई गाँस, बाँस र कपासको व्यवस्था गरेर मात्र दास प्रथाको अन्त्य गरेका थिए ।

नेपालमा दास प्रथा अन्त्य भएको करिब एक सय वर्ष पश्चात् पनि कृषिमा आधारित बँधुवा मजदुरहरू अझै स्वतन्त्र भने हुन पाएका छैनन् । पश्चिम नेपालबाट बँधुवा मजदुरी कमैया प्रथा अन्त्य भएको २४ वर्ष भएको छ तर उनीहरू अझै पनि स्वतन्त्र हुन सकेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्