Logo

टि-२० विश्वकप : क्यानडासँग आयरल्याण्ड स्तब्ध



काठमाडौं, जेठ २६ । अमेरिका र वेष्टइण्डिजमा जारी आइसिसी टि–२० विश्वकप क्रिकेटमा क्यानडाले ऐतिहासिक जित हासिल गरेको छ । शुक्रबार राती भएको खेलमा टि–२० विश्वकप क्रिकेटमा एसोसिएट राष्ट्र क्यानडाले टेस्ट राष्ट्र आयरल्याण्डमाथि १२ रनको जीत निकालेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको क्यानाडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३७ रन बनाएको थियो । क्यानाडाका निकोलस किर्तन अर्धशतकबाट एक रनले चुके । उनले ३५ बलमा ३ चौका र २ छक्कासहित ४९ रन मात्र बनाउन सके । यस्तै श्रेयस मोभ्भाले ३६ बलमा ३७ रन बनाए । पर्गत सिंहले १८ रन जोडे ।

आयरल्यान्डका लागि क्रेज योङ र व्यारी मक्कार्थिले समान २–२ विकेट लिए भने जोशुवा लिटल र ग्यारेथ डिलेनीले १–१ विकेट लिए । जवाफमा आयरल्यान्डले ७ विकेटको क्षतिमा १२५ रन मात्र जोड्न सक्यो । आयरल्यान्डका लागि मार्क अडेयरको ३४ रन सर्वाधिक रह्यो । उनले २४ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । यस्तै जर्ज डकरेलले ३० रन जोडे ।

क्यानाडाको जितमा जेरेमी गोर्डन र डिलन हेलिगरले २–२ तथा जुनेद सिद्दिकी र साद विन जफरले १–१ विकेट लिए । समूह ए मा क्यानाडाको दुई खेलमा यो पहिलो जित हो । आयरल्यान्डले भने दुईवटै खेलमा पराजय व्यहोरेको छ । यस समूहमा अमेरिकाको दुई खेलमा ४ अंक रहेको छ । भारतको एक खेलमा दुई अंक छ भने पाकिस्तान एक खेलमा अंकविहिन छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot