काठमाडौं, २६ जेठ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सरकारले प्रदेशलाई बलियो बनाउनेगरी काम गरिरहेको बताएका छन् । सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगले आज धनगढीमा आयोजना गरेको प्रदेश विकास परिषद्को तेस्रो बैठकमा उनले प्रदेशको विकास र जनचाहनालाई सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको बताए ।
उनले परिषद्को बैठकबाट आएका सुझावलाई लिएर अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे । ‘नीति तथा योजना आयोगको अध्यक्षका हैसियतमा पनि प्रदेशको विकासका लागि यहाँ व्यक्त भएका धारणालाई सम्पत्तिका रूपमा ग्रहण गरिने छ । आगामी दिनमा परिषद् बैठक नियमित गर्न र आयोगलाई थप प्रभावकारी बनाउन मेरो सधैँ सहयोग रहने छ,’– उनले भने ।