काठमाडौं, २६ जेठ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री सुदन किरातीले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले प्रतिकूल परिस्थितिको बावजुद पनि काम गरेर देखाउने कोशिस गरिरहेको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स नेपालको रिपोर्टर्स संवादमा कुराकानी गर्दै उनले बालेनलाई सारा जनताले आईडल मानेको बताए । उनले आफूलाई जनताले आइडल मान्दैगर्दा बालेनले प्रस्तुतिमा भने केही ख्याल गर्नुपर्ने बताए ।
‘उहाँले युवा उर्जा प्रदर्शन गर्न खोजिराख्नु भएको छ । विभिन्न चूनौतिहरुको बीचमा पनि उहाँले काम गर्न खोजिराखेको नै देखिएको छ । कतिपय क्षेत्रमा चाहीँ अलिकति अनुशासनको दायरालाई मिचिएको जस्तो, महानगरकै प्रमुख भइसकेपछि काम गरेर देखाउने कोशिस त उहाँले गरिनैराख्नु भएको छ । सँगसँगै आफ्नो प्रस्तुतिहरुमा पनि, आफूलाई सारा जनताले आइडल मान्छन् भने त आइडलले व्यक्त गरेको कुरा मान्छेको जीवन दर्शन हुन्छ । त्यसकारण चाहीँ उहाँले ख्याल गर्दा राम्रो हुन्छ कि जस्तो लाग्छ,’– उनले भने ।
‘पछिल्लो समय उहाँले सडक विभाग अगाडि धुलो थुपारिदिनुभयो । यसलाई नागरिक स्तरबाट उब्जिएको आक्रोश भन्दा के हुन्छ ?’ भन्ने प्रश्नमा उनले पुराना पार्टीहरुले काम गर्न नसक्दाको आक्रोशको रिफ्लेक्सनको रुपमा लिनुपर्ने बताए ।
‘त्यो स्वभाविक हो । पुराना पार्टीहरुले राम्रो काम गर्न नसक्दाखेरी जनताहरुको आक्रोश रिफ्लेक्सन भएर त्यता गएको हो । युवा शक्तिहरु आउनुपर्छ भन्ने नागरिकको चाहना, उहाँले यस्तो प्रतिकूल परिस्थितिमा पनि काम गरेर देखाउन बल गरिराख्नु भएको संकेत र पुरानो पार्टीहरुको उहाँमाथि जनसमर्थन छ । जनताको आक्रोश त्यहाँ व्यक्त भएको हो भन्न सकिन्छ,’– उनले भने ।