Logo

कोशी प्रदेश विकास परिषद्मा १५ जना मनोनित



विराटनगर । कोशी प्रदेश सरकारले विभिन्न क्षेत्रका १५ जनालाई प्रदेश विकास परिषद्को सदस्यमा मनोनित गरेको छ । परिषद्को सदस्यमा उद्योगी,व्यवसायी एवं पेशाकर्मीहरूलाई मनोनित गरिएको हो । प्रदेश सरकारको यही जेठ २५ गते बसेको मन्त्रिपरिषद् बैठकले परिषद् सदस्य मनोनित गर्ने निर्णय लिएको थियो ।

सरकारले प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७५ को दफा ७ को उपदफा २ (छ) बमोजिम प्रदेश विकास परिषद्का सदस्य मनोनित गरेको हो ।

मनोनित हुनेमा झापाका जीतबहादुर कार्की, राधिका ओझा, भवानीप्रसाद दंगाल, विराटनगरका प्रतिभा रिजाल, टीकाराम पुरी, राधा अधिकारी, संखुवासभाकी बबिता कटुवाल, उदयपुर त्रियुगाका रमेशचन्द्र रोका, मोरङ बूढीगंगाकी रीता न्यौपाने, सुनसरीका भीमप्रसाद घिमिरे र सर्लाहीका एकचन्द्र बराल रहेका छन् । त्यस्तै, उद्योगीहरु महेश जाजू, नवीन रिजाल, प्रकाश मुन्दडा र सुयश प्याकुरेललाई पनि मनोनित गरिएको छ ।

प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७५ को दफा ७ मा परिषद् गठनसम्बन्धी व्यवस्था छ । उक्त दफा अनुसार अध्यक्ष मुख्यमन्त्री हुने परिषद्को सदस्यमा प्रदेश सरकारका मन्त्रीहरु र मन्त्रीको कार्यभार सम्हाल्ने राज्य मन्त्रीहरु, प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेता, प्रदेशसभाका समितिका सभापतिहरु, आयोगका उपाध्यक्ष तथा सदस्यहरु, प्रमुख सचिव, प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता, सचिवहरु, जिल्ला समन्वय समिति र स्थानीय तहका प्रमुखहरू रहने व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस्