Logo

समीकरण परिवर्तनले नेपाल-भारतबीचको सम्बन्धमा केही फरक पर्दैैनः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, २८ जेठ । छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समीकरण परिवर्तनले नेपाल–भारतबीचको सम्बन्धमा कुनै असर नपर्ने बताएका छन् । आज (सोमबार) नयाँ दिल्लीमा भारत भ्रमणमा रहेका नेपाली पत्रकारहरुसँग संवाद गर्दै उनले समीकरण परिवर्तनसँगै नेपालको परराष्ट्र नीतिमा कुनै परिवर्तन नआउने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले समीकरण परिवर्तन हुने बेलामा नै भारतीय नेताहरुलाई यस विषयमा प्रष्टसँग भनेको बताए । प्रधानमन्त्री प्रचण्डले दुई पक्षीय सम्बन्धमा आपसी सहकार्य बढाएर लानुपर्ने र आर्थिकलगायत सबै क्षेत्रमा मिलेर जाने कुरामा समीकरण परिवर्तनले कुनै असर नगर्ने बताए ।

‘भारतमा नेपालको आन्तरिक राजनीति के कस्तो हुन्छ भन्ने कुराले नेपाल–भारत सम्बन्धमा केही फरक पर्दैन । पर्न पनि हुँदैन भन्ने मान्यता हामीले राख्दै आएका छौं । यहाँ एकथरी भारतका नेताहरुलाई या कपतिय एजेन्सीहरुलाई पनि लागेको होला–नेपालमा राजनीतिक समीकरणहरु परिवर्तन भइराख्छ । त्यसो भएर राजनीतिक परिवर्तनसँगै नेपाल–भारत सम्बन्धमा पनि तलमाथि हुन्छ भन्ने पर्छ । कतिपयले त्यस्तो धारणा बनाउँछ ।’ उनले भने, ‘अहिले हामी समीकरणमा छौं, त्यो समीकरण बन्ने बेलामा नै मैले भारतीय नेताहरुलाई प्रष्टसँग भनेको थिएँ– हाम्रो आन्तरिक राजनीतिक कारणले समीकरणमा हेरफेर त हुन्छन्, सबैमा हुन्छ । तर, त्यसले हाम्रो परराष्ट्र नीतिमा नेपाल–भारत सम्बन्धलाई सुदृढ गरेर लानुपर्छ । अझ राम्रो बनाउनुपर्छ । दुई पक्षीय सम्बन्धलाई आपसी सहकार्य बढाएर लानुपर्छ । आर्थिकलगायत सबै क्षेत्रमा मिलेर जानुपर्छ भन्ने कुरामा चाहीँ कुनै फरक पर्दैन ।’

समीकरण परिवर्तनले नेपाल–भारतबीचको परराष्ट्र नीतिमा कुनै फरक पर्दैन भन्दा त्यतिबेला कसैले पनि सहज रुपमा नलिएको पनि प्रचण्डले सुनाए । समीकरण परिवर्तनले नेपाल–भारतबीचको सम्बन्धमा कुनै परिवर्तन आउँदैन भन्ने कुरा अहिलेसम्म आइपुग्दा पुष्टि भएको पनि प्रधानमन्त्री प्रचण्डले बताए । ‘यसबीचमा हामीले जसरी काम गरेका छौं, देशभित्र पनि देश बाहिर पनि, अहिलेको भ्रमणसम्म आउँदा उहाँहरुले जे देख्नुभयो, मलाई लाग्छ नेपालले कन्सिस्टेन्ट पोलिसी लिएको छ । नेपालको विदेश नीतिमा, छिमेकसँग सम्बन्धित नीतिमा फरक आउँदो रहेनछ, समीकरण जेसुकै भएपनि भन्ने चाहीँ अहिले अलि विश्वास भएकोजस्तो मैले महशुस गरेको छु,’– प्रचण्डले भने ।

नेपाल–भारतबीच मुख्य ध्यान विकासमा रहेको पनि उनले बताए । विकासमा पनि उर्जा र कृषिलाई विशेष प्राथमिकता दिइएको पनि प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उनले भारतसँगको व्यापार घाटाका विषयमा कुरा राखेको बताए । प्रधानमन्त्री प्रचण्डले नेपालसँग भारतीय नेताहरु विस्तारै सकारात्मक बन्दैगएको पनि बताए ।

‘अहिले मुख्य कुरा त विकासमै छ । विकासको पनि एउटा उर्जा क्षेत्रसँग सम्बन्धित हो । अर्को चाहीँ उर्जा र कृषि क्षेत्रसँग सम्बन्धित विषयमा हामी दृढताको साथ जानुपर्छ भन्ने कुरा मैले हिजो पनि राखेको छु । सहकार्यलाई पनि बढाउनुपर्ने हुन्छ भन्ने कुरा पनि । त्यसमा उहाँहरुको रुची बढेको मैले देख्छु । नेपालको ब्यापार घाटाको विषयमा पनि के गर्न सकिन्छ भन्ने कुरामा पनि भारतीय नेताहरु विस्तारै सकारात्मक बन्दै गएको मैले महशुस गरेको छु,’– प्रधानमन्त्री प्रचण्डले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot