काठमाडौं । राष्ट्रिय मुक्तिक्रान्ति सम्वद्ध पश्चिम कमान्डअन्तर्गत ढोरपाटन शिकार आरक्षद्धारा स्वदेशी मगरात भूमि अतिक्रमणविरुद्ध साँस्कृतिक प्रतिरोध कार्यक्रमको आयोजना गरेको छ ।
बुधबार जुनतारा पुन मगरको अध्यक्षतामा बहुलराष्ट्रिय राज्य नेपाल स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्ति, ढोरपाटन शिकार आरक्षद्वारा स्वदेशी मगरात भूमि अतिक्रमणविरुद्ध साँस्कृतिक प्रतिरोध कार्यक्रम बागलुङको बुर्तिवाङ बजारमा आयोजना गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक तथा पुर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले एकल नश्लिय चिन्तन बोकेका शासकवर्गले साझा नेपाल बन्न नदिएको गुनासो आरोप लगाएका छन् । उनले फुटाउ र राज्य गर नीति लिएका राजनीतिक दलहरुले उत्पीडितहरुलाई एकजुट हुन नदिएकोले आफु पहाड र हिमालतर्फ उक्लिनु परेको बताएका छन् ।
‘जहाँ जहाँ विभेद, उत्पीडन , अन्याय, अपमान रहन्छ त्याँहा त्याँहा राष्ट्रिय मुक्ति क्रान्ति हुन्छ’ उनले भने। कार्यक्रममा अर्का नेता केशव झाले ढोरपाटन शिकार आरक्ष क्षेत्रबाट पीडित भएका मुलवासीहरुको समस्या अब हाम्रो समस्या भएकोले राष्ट्रिय अन्तर्राष्ट्रिय मन्चसम्म यो समस्या उजागर गर्ने र समाधान खोज्ने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रमको उदेश्य नै जल, जंगल, जमिन माथि आदिवासी मुलवासीहरुको अधिपत्य स्थापित गराउने भएको मुक्ति क्रान्तिले जनाएको छ। साँस्कृतिक झाँकी सहित प्रदर्शन भएको र्याली नगर परिक्रमा गरि सभामा परिणत भएको थियो। कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका नेतृ कमला गुरुङ, काठमाडौंका चर्चित युवा नेता सुमन सायमी, नेता अनिल महासेठले सम्बोधन गरेका थिए।