Logo

नेताहरुलाई रेशमको सुझावः ‘आफ्नो घरमा साडीको सप्को मिलाउनुस्, अर्काको घरको साडीको सप्को चुडाउन नथाल्नुस्’



काठमाडौं, ३० जेठ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले केही राजनीतिक दलहरुले विगत दुई÷चार महिनादेखि आफ्नो घरमा आगो लगाइदिन खोजेको टिप्पणी गरेका छन् । आज (बुधबार) नेपाल समाजवादी पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले श्रीमान–श्रीमतीबीचको सम्बन्धलाई लक्षित गरेर उक्त अभिव्यक्ति दिएका हुन् । नेता चौधरीले देश र जनताको मुद्दा छाडेर नेताहरुले खासखास खुसखुस गरेर आफ्नो घरमा फाटो ल्याउन खोजेको बताए । उनले राजनीतिक दलका नेताहरुको नैतिकतामाथि पनि प्रश्न उठाए ।

‘दुई÷चार महिनादेखि त हाम्रो घरमा आगो पनि लगाइदिए । लोग्ने–स्वास्नीका बीचमा खासखास खुसखुस गरेर फाटो ल्याउने राजनीतिक दलले मुलुकको विकास गर्लान् । कस्तो नैतिकता यो ?’ उनले प्रश्न गरे ।

साथै, उनी प्रधानमन्त्रीविरुद्ध पनि खनिएर । प्रधानमन्त्री प्रचण्डविरुद्ध आक्रोश पोख्दै उनले गीतमा मोडल बनाउन मन लागेको टिप्पणी गरे । उनले प्रधानमन्त्री प्रचण्डलाई देश र जनताको कुनै चासो नरहेको बताए । प्रधानमन्त्री बडो फुर्सदमा रहेको पनि उनले टिप्पणी गरे । प्रधानमन्त्रीसँग खिचेको फोटोलाई लिएर पनि उनले आपत्ति जनाए ।

‘हाम्रो देशको प्रधानमन्त्रीको फेरि बडा फूर्सद । मलाई त गीतको मोडलमा खेलाउन मन लागेको छ प्रधानमन्त्रीलाई । देशको विकास, जनताको अवस्था के छ ? के छ ? क्लिक, क्लिक फोटो, ट्याक्क, ट्याक्क पोष्ट । अरे बाबा !’ उनले भने ।

साथै, नेता चौधरीले आफ्नो घरको साडीको सप्को मिलाउनसमेत भने । उनले अरुको घरको साडीको सप्कोलाई चुडाउन नथाल्नुस् भन्दै चेतावनी दिए । ‘आफ्नो घरमा साडीको सप्को मिलाउनुस्, अर्काको घरको साडीको सप्को चुडाउन नथाल्नुस् । यो गम्भीर अपराध हो,’– नेता चौधरीले भने । Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्

Screenshot