Logo

टीकापुर घटनाबारे मुख खोल्ने रेशमको चेतावनी, दोषी बनाइएका थारुहरुलाई उचित क्षतिपूर्तिसहित राज्यले माफी माग्नुपर्ने माग



काठमाडौं, ३० जेठ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले टीकापुर घटनाबारे मुख खोल्ने चेतावनी दिएका छन् । आज (बुधबार) नेपाल समाजवादी पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले टीकापुर घटनामा निर्दोष थारुहरुलाई फसाइएको दाबी गरे ।

उनले टीकापुर घटनामा निर्दोष थारुलाई फसाइएकाले राज्यले उचित क्षतिपूर्तिसहित माफी माग्नुपर्ने बताए । सोही कार्यक्रममा सहभागी भएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई सम्बोधन गर्दै उनले टीकापुर घटनामा दोषी बनाइएको थारुहरुलाई उचित क्षतिपूर्तिसहित माफी माग्ने व्यवस्था मिलाउन आग्रह गरे ।

‘सबैभन्दा पहिला यो देशमा धेरै कुरा परिवर्तन गर्नुपर्छ गृहमन्त्रीज्यू । तपाईँ मेरो मित्र भएको नाताले पनि भन्छु– सबैभन्दा पहिला टीकापुर घटनामा जबरजस्ती दोषी बनाइएका थारुहरुलाई उचित क्षतिपूर्तिसहित राज्यले माफी माग्ने बन्दोबस्त गर्नुस् । हाम्रो के अपराध थियो । जसले घाईते व्यक्तिलाई रिक्सामा राखेर अस्पताल पुर्यायो, उ साढे आठ वर्ष जेल बस्नुपर्ने ? जसले घाईतेलाई मलमपट्टी गरिदियो, त्यो आठ–आठ वर्ष जेलको कालकोठरीमा सड्नुपर्ने ?’ उनले प्रश्न गरे ।

साथै, टीकापुर घटनाबारे आफूहरुलाई नसोध्न पनि उनले आग्रह गरे । टीकापुर घटनाबारे लाल आयोगलाई सोध्न उनले सुझाव दिए । नेता चौधरीले टीकापुर घटना कसले घटाएको हो भन्ने कुरा आफूलाई थाहा रहेको तर्फ उनको धारणा थियो । ‘घटना कसले घटायो हामीलाई नसोध्नुस् । लाल आयोगलाई सोध्नुस् । मान्छे भन्नुपर्छ भने भन्दिन्छौं । किनकी अब भन्ने बेला आएको छ,’– उनले भने ।

नाउपाको महाधिवेशनलाई निर्वाचन आयोगले अवैध भनेको विषयलाई लिएर उनले आक्रोश पोखे । यस्तो प्रकारको शासन पद्धतिबाट आजित भएको उनले बताए । यो व्यवस्थाले दुई सयभन्दा बढी राष्ट्रिय गीत लेखिरहेको व्यक्तिलाई देशद्रोही बनाएको भन्दै उनले दुःख व्यक्त गरे । Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्

Screenshot