Logo

रवि लामिछानेलाई अगाडि राखेर सिके राउतले भनेः ‘तपाई वीपीपछिको नेता, प्रधानमन्त्री त त्यसै बन्नुहुन्छ’



काठमाडौं, ३० जेठ । जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य डा. सिके राउतले परिवर्तनका लागि सडक संघर्षमा होमिनुको विकल्प नरहेको बताएका छन् । आज (बुधबार) डा. बाबुराम भट्टराई नेतृत्वको पार्टी नेपाल समाजवादी पार्टीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले परिवर्तनका लागि सडक संघर्षमा होमिनु अपरिहार्य भइसकेको बताएका हु्न् ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पनि सहभागिता रहेको उक्त कार्यक्रममा डा. राउतले सडक संघर्षमा होमिन लामिछानेलाई आग्रह गरे । उनले आफूले विगतमा पनि गृहमन्त्री लामिछानेलाई पटक–पटक यो देशमा वीपीपछिको नेताको रुपमा चित्रण गर्दै आएको बताए । उनले गृहमन्त्री लामिछाने प्रधानमन्त्री बन्ने दाबी गरे । गृहमन्त्री लामिछाने प्रधानमन्त्री बन्दा पनि यो व्यवस्थाबाट परिवर्तन सम्भव नरहेको उनको दाबी छ ।

‘हामी सडकबाटै जाने हो । सडकमा होमिनै पर्छ । त्यसको लागि त्याग गर्नुपर्ने हुन्छ, विचारमात्रै गरेर पुग्दैन । धेरै विचार भइसक्यो । माननीय गृहमन्त्रीज्यूलाई पनि मैले पटक–पटक, गएको वर्ष पनि भनेको छु– तपाईँ वीपीपछिको नेता हुनुहुन्छ, जो यो देशलाई आन्दोलनमा हाँक्न सक्छ । तपाईँ आन्दोलनको लागि तयार हुनुस् । प्रधानमन्त्री त त्यसै तपाईँ बन्नुहुन्छ, त्यो ठूलो कुरा होईन ।’ उनले भने, ‘अहिलेको व्यवस्थामा प्रधानमन्त्री बनेर मात्रै केही परिवर्तन हुँदैन । मैले सम्मानीय प्रधानमन्त्री प्रचण्डज्यूलाई देखेको छु । उहाँले मेरै अगाडि १० पटक फोन गर्दा त कर्मचारीले टेर्दैन । त्यस्तो अवस्था हामी कहाँ छ भने त्यहाँबाट पार लाग्ने अवस्था छैन । हामीले सडकबाटै आन्दोलनको यात्रा तय गर्न सक्नुपर्छ ।’

साथै, जनमतले कारबाहीको पत्र पठाउँदा दुई महिनासम्म हेर्ने फुसर्द नपाएको निर्वाचन आयोगले २४ घण्टामै पार्टी फुटाइदिएको भन्दै उनले आपत्ति जनाए । नेता राउतले संसदीय प्रणालीबाट अब अगाडि बढ्न नसकिने निचोड सुनाए । ‘अहिले २४ घण्टा लाग्यो त पार्टी फुट्न ? लागेन । जनमत पार्टीले कारबाहीको पत्र दिँदा दुई महिनासम्म पत्र हेर्ने फुर्सद नभएको निर्वाचन आयोगले २४ घण्टामा पार्टी फुटाइदियो । कसरी हुन्छ ? हामीलाई पनि थाहा छ । संसद्बाट हामी अगाडि जान सक्दैनौं,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot