Logo

ओली, प्रचण्डको क्षेत्रमा बढि बजेट परेपछि प्रभु साहको आक्रोश : के तिनीहरुको बाउले कमाएको निजी पैसा हो यो बजेट ?



काठमाडौं, ३० जेठ । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नाम परिवर्तन गरेर सुनसरी मन्त्रालय लेख्न सुझाव दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलमा भाग लिने क्रममा सांसद साहले यस्तो सुझाव दिएका हुन् ।

उनले भने,‘महिला, बालबालिका मन्त्रालयको नाम अब सुनसरी भनेर लेखिदिए पुग्छ, त्यसलाई किन देभरिको मन्त्रालय भन्ने ?’ उनले बजेटमा सुरक्षित आवास कार्यक्रम समावेश गरिएको भएपनि अहिलेसम्म सुरक्षित आवास नबनाईएकोमा आपत्ति जनाए । उनले गरिबीप्रति मजाक गर्ने काम भएको भन्दै यस्तो अपराधजन्य काम नगर्न चेतावनी दिए ।

उनले अहिलेसम्म सहरी विकास मन्त्रालयको कामको फोकस के हो ? भन्ने कुरा आफूहरुले बुझ्न नसकेको टिप्पणी गरे । सो क्रममा उनले मन्त्रीसमक्ष स्मार्ट र नयाँ सिटीको कार्यक्रम कहाँ पुग्यो ? भन्दै प्रश्न गरे । उनले स्मार्ट र नयाँ सिटी बनाउने सवालमा पनि व्यक्तिपिच्छे हरेक वर्ष परिवर्तन हुने गरेकोमा राज्यको पैसा दुरुपयोग नगर्न सुझाए ।

उनले बजेटमा नेपाली जनताहरुको बराबरको अधिकार भएको भन्दै नेताविशेष सहरी विकास मन्त्रालयको बजेट छुट्याईएकोमा आपत्ति जनाए । उनले सहरी मन्त्रालयको ९० अर्ब बजेट १६५ निर्वाचन क्षेत्रमा बराबरी छुट्याउँदापनि कम्तिमा एक निर्वाचन क्षेत्रमा ५५ करोडभन्दा बढि रकम हुने सुनाए । उनले भने,‘कुनै नेताज्यूको क्षेत्रमा त अरबौं अरब रुपैयाँ छ, के नेपाली जनताको बराबर योगदान होईन यो बजेटमा ? के बाउले कमाएको निजी पैसा हो ? बजेट कसैको पैतृक सम्पत्ति हो ? होईन भनेर यसरी मनोमानी गर्न मिल्छ ?’



प्रतिक्रिया दिनुहोस्

Screenshot