विराटनगर, ३२ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गए राति ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । फक्तालुङमा पहिरोमा परी चार जनाको मृत्यु भएको थियो ।
घटनाबारे मुख्यमन्त्री कार्कीले ताप्लेजुङस्थित सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीसँग टेलिफोनमार्फत जानकारी लिएका छन् । प्रदेशका सबै सुरक्षा निकायका प्रमुखहरुलाई दैवी प्रकोपका घटनाबाट हुने भौतिक र मनवीय क्षति कम गर्न सावधानी अपनाउन उनले निर्देशन दिएका छन् ।
मुख्यमन्त्री कार्कीले सुरक्षा निकायले गरिरहेको काम र प्रमुख जिल्ला अधिकारीमार्फत भइरहेको राहत तथा उद्धारबारे चासो राखेको उनको सचिवालयले जनाएको छ । बिहीबार राति ताप्लेजुङ फक्ताङ्लुङ पहिरोमा परी ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्रा लिम्बुको घर बगाउँदा उनको परिवारका चार जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा उपाध्यक्ष लिम्बूका बाबु ७१ वर्षीय रामबहादुर साम्रा लिम्बु, आमा ४८ वर्षीय जसमाया साम्रा र जुम्ल्याहा बहिनीहरू १२ वर्षीया गंगा र जमुना साम्रा लिम्बू छन् । त्यहाँ राति करिब २ बजेतिर आएको पहिरोले घर बगाएको थियो ।