काठमाडौं, असार ३ । आज निर्जला एकादशी। ज्येष्ठ शुक्ल एकादशीका दिन पर्ने यो पर्व तुलसीको बीउ रोप्ने पर्वका रूपमा चिनिन्छ। आज बिउ राखिएको तुलसी एक महीनापछि अर्थात् आषाढ शुक्ल एकादशीका दिन मोठमा रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महीना भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको पूजा आराधना गरिन्छ । यो चार महीने अवधिलाई चतुर्मासा समेत भनिन्छ ।
आयुर्वेदमा उल्लेख भए अनुसार तुलसी रोपिएको स्थानलाई पवित्र मानिन्छ । तुलसी भएको स्थानमा मलेरिया फैलाउन सक्ने विषाक्त वायु समेत हटाउने क्षमता हुने तथ्य वैज्ञानिक रुपमा प्रमाणित भएको छ । तुलसीमा सबै प्रकारका प्रदूषणलाई हटाएर स्वच्छता कायम गर्न सक्ने क्षमता हुन्छ ।
सनातन हिन्दू धर्मावलम्बीले जीवनको अन्तिम क्षणमा पुगेकालाई तुलसी मिश्रित जल पिलाउने गर्छन् । ऋषिमुनिले तुलसीलाई घरमा रोपी पूजा आराधना गर्ने रीत बसालेको जानकारहरु बताउन्छन् । आजको दिनमा पानिसमेत नखाई उपबास बस्दा भगवान श्री विष्णु प्रशन्न हुने मान्यता रहि आएको छ ।