Logo

एकीकृत समाजवादीले पहिलो दिनदेखि नै समाजवादको यात्रामा पाइला अगाडि सारेको छः माधव नेपाल



काठमाडौँ, ३ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनबाट मुलुकमा वैज्ञानिक विशेषताको समाजवादको धारणालाई व्यवस्थित गरिने बताएका छन् ।

अखिल नेपाल महिला सङ्घ (समाजवादी) ले आयोजना गरेको कार्यक्रममा उनले महाधिवेशनबाट पारित गरिने दस्तावेजले नेपाली विशेषताको समाजवादलाई कार्यान्वयन गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष नेपालले पार्टीका सम्पूर्ण नेता र कार्यकर्ताको सामूहिक छलफलबाट दस्तावेज निर्माण गरिएकाले पार्टीभित्र वैचारिक मतभेद नरहेको प्रष्ट पारे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनको रक्षाका लागि समाजवादी मोर्चा हुँदै वैचारिक दृष्टिकोण र विचार मिल्ने समूह तथा राजनीतिक शक्तिलाई एकताबद्ध गर्नुपर्ने भन्दै त्यसले समाजवादको लक्ष्य प्राप्त गर्न सघाउ पुग्ने धारणा राखे । उनले आफ्नो पार्टीले समाजवादको यात्रामा अघि बढ्छौँ भनेर पहिलो दिनदेखि नै पाइला सारेको बताए ।

पार्टीका सम्मानित नेता झलनाथ खनालले सहमतिका साथ नेतृत्व निर्माणका लागि पार्टीको दस्तावेज तयार गरिएको र अझै परिस्कृत गरेर पारित गरिने बताए । पूर्वप्रधानमन्त्री रहेका नेता खनालले एउटा वैचारिक राजनीतिक कार्यदिशाका साथै नीति, सिद्धान्त र लक्ष्यका आधारमा एकता र सहमति खोज्नुपर्ने बताए ।

पार्टीका उपाध्यक्ष एवं अनेमसङ्घका अध्यक्ष जयन्ती राईले महाधिवेशनमा महिला समानुपातिक प्रतिनिधित्व वृद्धि गर्नुपर्नेमा जोड दिईन् । त्यसअवसरमा अनेमसङ्घका विभिन्न प्रकाशन विमोचन गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्