Logo

प्रहरी दमनबाट घाइते भएका कवाड व्यवसायीहरुको ट्रमा सेन्टरमा उपचार जारी



काठमाडौं, ४ असार । काठमाडौं महानगरविरुद्ध प्रदर्शनमा उत्रिएका कवाड व्यवसायीहरुमाथि प्रहरी दमन हुँदा एक दर्जनभन्दा बढी प्रदर्शनकारीहरु घाइते भएका छन् । अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उनीहरुको उपचार भइरहेको छ ।

काठमाडौं महानगरपालिकाले विस्थापित गराउन खोजेको भन्दै उनीहरु महानगरको निर्णयविरुद्ध सडक संघर्षमा उत्रिएका हुन् । कवाड व्यवसायीहरु गत असार ३ गतेदेखि चरणवद्ध रुपमा सडक संघर्षमा होमिएका थिए । आज पनि महानगरेको निर्णयविरुद्ध प्रदर्शनमा जुटेको कवाड व्यवासायीहरु र प्रहरीबीच घम्साघम्सी भएको थियो । काठमाडौंको काठमाडौं प्लाजा अगाडि रोडमा पुगेका प्रदर्शनकारी र प्रहरीबीच मुडभेडको स्थिति सिर्जना हुँदा प्रहरीले बल प्रयोग गरेको थियो ।

प्रदर्शनकारीहरु पनि प्रहरीमाथि जाइलागेका थिए । उनीहरुले सडक पेटीमा रोपिएको विरुवा र बार उखेलेर प्रहरीमाथि प्रतिकार गरेका थिए । प्रहरीले बल प्रयोग गरेपछि प्रदर्शनकारीहरुको भागाभाग भएको थियो । उनीहरु सडकमै बाइक छाडेर भागेका थिए । सो क्रममा धेरै प्रदर्शनकारीहरु घाइते भएका छन् ।



प्रतिक्रिया दिनुहोस्