Logo

विपद् व्यवस्थापनका लागि मिलेर अगाडि बढौँः मुख्यमन्त्री सिंह



काठमाडौं, ४ असार । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बालबालिकालाई विपद् व्यवस्थापनसम्बन्धी शिक्षा, ज्ञान र चेतना अभिवृद्धि गर्नुपर्ने बताएका छन् । गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेस प्रदेशले जनकपुरधाममा आज आयोजना गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१ कार्यशाला तथा अन्तक्र्रियामा मुख्यमन्त्री सिंहले युवा र बालबालिकालाई विपद् व्यवस्थापनसम्बन्धी तालिम दिन आवश्यक रहेको बताएका हुन् ।

त्यसका लागि विद्यालयस्तरबाट नै शिक्ष्ष तथा ज्ञानबारे जानकारी दिन आवश्यक रहेकामा उनको जोड थियो । “मैले यस्ता धेरै तालिम देखेको छु तर त्यहाँ युवा तथा बालबालिकाको धेरै उपस्थिति पाइनँ । विद्यालयस्तरका बालबालिका तथा युवाले भोलिको भविष्य निर्धारण गर्ने हुँदा यस्ता तालिममा उहाँहरूको सहभागिता हुन आवश्यक छ”, मुख्यमन्त्री सिंहले भने ।

आफू गाउँपालिका अध्यक्ष हुँदाको अनुभव सुनाउँदै उनले विगतमा गैरसरकारी सङ्घसंस्थाको भरमा विपद् व्यवस्थापन प्रतिकार्य कार्यक्रम हुँदैआएको पाइएकाले प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमाफर्त गैरसरकारी संस्थासहितको सहकार्यमा विपद् व्यवस्थापन गर्ने व्यवस्था गरिएको उल्लेख गरे ।

“आउनुस् हातेमाले गरेर मधेसमा काम गरौँ, तपाईँहरूसँग सहकार्य गर्न मधेस प्रदेश तयार छ । मधेस प्रदेशमा भइरहेका विपद् जोखिम न्यूनीकरण गद पीडितहरूलाई मिलेर सहयोग गरौँ,”– उनले भने ।

तराई मधेसमा जाडोमा शीतलहर र अत्यधिक जाडो, गर्मीमा ‘लु’ रोग तथा आगलागी र बर्सातमा चट्याङ तथा बढीजस्ता समस्याले सधैँभरि सताइरहेको बताउँदै यस्ता विपद्लाई न्यूनीकरण गर्न सङ्घबाट बाझिएको कानुनलाई फुकाउन आवश्यक रहेको मुख्यमन्त्री सिंहले बताए ।



प्रतिक्रिया दिनुहोस्