काठमाडौं, ४ जेठ । शान्तिपूर्ण आन्दोलनमा रहेका कवाड व्यवसायीहरुमाथि राजाको प्रत्यक्ष शासनको झल्को दिनेगरी धरपकड भएको भन्दै कवाड व्यवसायी संघर्ष समितिले आपत्ति जनाएको छ । आज (मंगलबार) कवाड व्यवसायीहरुले प्रदर्शन गर्ने क्रममा प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले धरपकड गर्दा एक दर्जनभन्दा बढी कवाड व्यवसायीहरु घाइते भएका छन् । अहिले उनीहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रमा राजाको प्रत्यक्ष शासनको झल्को दिनेगरि न्यायसंगत माग राखी शान्तिपूर्ण आन्दोलनमा उत्रिएका प्रदर्शनमा काठमाडौं महानगरको घुसपैठ तथा प्रहरीको निर्मम आक्रामण र दमन निन्दनीय छ । कवाड व्यवसायीले उठाएका मागहरु देशको शान्ति, सुरक्षा एवं कानुनी शासनसंग सम्बन्धित रहेकोले यसलाई तत्काल सम्बोधन गर्नुकोसट्टा राज्यले यसरी प्रहरी लगाएर आन्दोलनकारीमाथि दमन गर्नु लोकतन्त्रको उपहास हो,’– संघर्ष समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
काठमाडौं महानगरले कवाड व्यवसायीलाई विस्थापित गर्न खोजेको र अदालतको निर्णयसमेत नमानेको भन्दै कवाड व्यवसायीहरु गत असार २ गतेदेखि महानगरविरुद्ध प्रदर्शनमा थिए । आज उनीहरुले प्रदर्शन गरिरहेको अवस्थामा प्रहरीले धरपटड गरेको थियो ।
यस्तो छ संघर्ष समितिले जारी गरेको विज्ञप्तिः
काठमाडौं महानगरपालिकाको डोजर आतंकविरुद्ध आज हजारौंको संख्यामा उपस्थित कवाड व्यवसायीहरुको विशाल प्रदर्शनमाथि प्रहरीको धरपकड र दमन भएकोप्रति संघर्ष समितिको घोर आपत्ति छ । संघीय लोकतान्त्रिक गणतन्त्रमा राजाको प्रत्यक्ष शासनको झल्को दिनेगरि न्यायसंगत माग राखी शान्तिपूर्ण आन्दोलनमा उत्रिएका प्रदर्शनमा काठमाडौं महानगरको घुसपैठ तथा प्रहरीको निर्मम आक्रामण र दमन निन्दनीय छ । कवाड व्यवसायीले उठाएका मागहरु देशको शान्ति, सुरक्षा एवं कानुनी शासनसंग सम्बन्धित रहेकोले यसलाई तत्काल सम्बोधन गर्नुकोसट्टा राज्यले यसरी प्रहरी लगाएर आन्दोलनकारीमाथि दमन गर्नु लोकतन्त्रको उपहास हो ।
सम्मानित अदालतको आदेश विपरित कवाड व्यवायीहरुमाथि काठमाडौं महानगरपालिकाले व्यवसायीहरुको फर्म तोडफोड गर्न थालेपछी शान्ति सुरक्षाको प्रत्याभूतिको मागसहित हामी यही असार २ गतेदेखि आन्दोलित रहेकोमा आज काठमाडौंको यूएन पार्कबाट सुरु भएको विशाल र्यालीमा प्रशनकारीहरुले “छोटे राजाहरुको आतंक बन्द गर, कबाड व्यवसायीको रक्षा गर, कानुनी शासन लागु गर, अदालतको निर्णयको सम्मान गर” जस्ता नारासहित महानगरपालिकाको कार्यालय अगाडि शान्तिपूर्ण घेराउ एवं प्रदर्शनको क्रममा प्रहरी दमनमा परि कमोद प्रसाद साह, राजु महतो, केदार साह, नन्द किशोर यादव गम्भीर घाईते हुनुको साथसाथै अन्य दर्जनौं साथीहरु घाईते भएकोले सबैको शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दै तत्काल प्रहरी दमन बन्द नगरिए हामी आन्दोलनकारी कडा कदम चाल्न बाध्य हुने र यसबाट उत्पन्न हुने सम्पूर्ण क्षतिको जिम्मेवारी स्वयं सरकारले लिनुपर्ने विषय अग्रीम रुपमा अवगत समेत गराउन चाहन्छु ।