Logo

मन्त्रालयको बजेट विनियोजन पुनर्लेखन गर्नुपर्छ: रमेश लेखक



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेट पुनर्लेखन गर्नुपर्ने बताएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकबाट बाहिरिनेक्रममा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्ने बताएका हुन् ।

प्रमुख सचेतक लेखकले बजेटको मूल मान्यतामा नै त्रुटि भएको बताए । उनले मन्त्रीहरूले आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै क्षेत्रमा लैजाने, आफ्नै जिल्लामा लैजाने कुराले ज्यादा अपरिपक्व, गैरजिम्मेवार र दुरुपयोग गरेको पुष्टि भएको बताए । उनले यो शक्ति र सत्ताको दुरुपयोग भएको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयको बजेट पुनःलेखन गर्नुपर्ने बताए ।

‘प्रधानमन्त्रीजीले सम्बन्धित मन्त्रीजीहरुलाई बोलाएर यो बजेटलाई रिराइट गर्न लगाउनु पर्छ। सदनमा यति कुरा उठिसकेपछि राजनीतिक र नैतिक दबाबमा प्रधानमन्त्री हुनुपर्छ’ उनले भने, ‘प्रधानमन्त्रीजी र अर्थमन्त्रीजीले यो बजेट विनियोजनमा हस्तक्षेप गर्नुपर्छ। ति मन्त्रीलाई यो विनियोजन कसरी गर्नुभयो भनेर प्रश्न गर्नुपर्छ र मन्त्रालयको बजेट संशोधन गर्नुपर्छ। होइन भने प्रधानमन्त्री र अर्थमन्त्रीजी नै यो बजेटमा बेठिक ढंगले वितरण गर्ने ढंगमा संलग्न हुनुहुथ्यो भन्ने निस्कर्षमा हामी पुग्छौँ।’



प्रतिक्रिया दिनुहोस्