काठमाडौं, ५ असार। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धादिङको गजुरी र धार्केमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९१औं र १९२औं शाखा सञ्चालनमा ल्याएको हो । योसँगै बागमती सिटिजन्स बैंकका बागमती प्रदेशमा सञ्चालनमा आएका शाखाहरुको संख्या ५४ पुगेको छ ।
गजुरी र धार्केमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले नयाँ शाखाहरुको शुभारम्भ गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले ग्राहकहरूलाई उत्कृष्ट सेवा सुबिधा पुर्याउने क्रममा धादिङबासीहरुको सेवामा आइपुगेको बताए । उनले आगामी दिनमा सुशासनलाई ध्यानमा राख्दै अझ उच्चस्तरीय ग्राहक सेवामा समर्पित रहने प्रतिवद्धता व्यक्त गरे ।
उक्त शाखाहरुको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।
धादिङ गजुरीमा आफ्नो नयाँ शाखाको शुभारम्भ भएको दिनमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गजुरी–१,आधामारा धादिङमा अवस्थित श्री पत्तालिनी आधारभूत विद्यालयलाई कम्प्युटर सेट र प्रिन्टर उपलब्ध गराएको छ ।
विद्यालयमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले सहयोग स्वरुप कम्प्युटर सेट र प्रिन्टर हस्तान्तरण गरेका थिए । प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको सानो सहयोगले विद्यालयमा अध्ययनरत विद्यार्थीहरु लाभान्वित हुने विश्वास व्यक्त गरे ।