काठमाडौं, २८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बेचन झा पक्राउ परेपछि सरकार ढल्यो भनेर गलत भाष्य निर्माण नगर्न आग्रह गरेका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले नेताहरुबीचका शर्त नमिलेको कारण नै अहिलेको सरकार ढलेको बताए । उनले अहिलेको सरकारले कुनै पनि राम्रो काम गर्न नसकेको बताए ।
‘टोपबहादुर रायमाझी यो संसद्को सदस्य हो । उहाँलाई पक्राउ गर्दा सरकार नढल्ने । जाबो बेचन झा पक्राउ गर्दा सरकार ढल्ने हुन्छ । गलत भाष्य निर्माण नगरौं न । समीकरण मिलेन, नेताहरुको शर्त मिलेन, सरकार ढल्यो भने भइगयो त,’– उनले भने ।
सांसद शाहीले सरकारले एउटा फाइल खोलेर एक जनामान्छे पनि जेल हाल्न नसकेको बताए । उनले निर्मला पन्तको हत्यारा पत्ता नलागेको, जीबी राई पक्राउ नपरेको, सहकारी ठगीका दोषीहरु कोही पनि जेल नगएको र भुटानी शरणार्थी प्रकरणमा केही मानिसबाहेक जेल नगएको बताए ।
उनले वर्तमान व्यवस्थाभित्र नै सुधार गर्न आवश्यक रहेको छ । नेता शाहीले राप्रपाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको विपक्षमा मतदान गर्ने बताए । Photo by: Mukunda Kalikote/Reporters Nepal