काठमाडौं, ३० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निष्काशित महामन्त्री मुकुल ढकालले आफूलाई धम्की आएको बताएका छन् । उनले रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेको सचिवालयबाट धम्की आएको बताएका छन् । मुकुलले टेलिभिजन प्रस्तोता टीकाराम यात्रीसँगको अन्तरवार्तामा डा. स्वर्णिम वाग्ले र रास्वपाका सभापति रवि लामिछानेसँग सम्बन्धित रहेर आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।
‘म भारत मामिला हेर्ने भएकाले उहाँ (रवि) ले भारतलाई म जे पनि बुझाउ तयार छु, मलाई प्रधानमन्त्री बनाउनका लागि भारतलाई मनाउ भनेर उहाँले पठाउनु भयो,’– मुकुलले टीकाराम यात्रीसँगको अन्तरवार्तामा भनेका थिए ।
साथै, उनले स्वर्णिमले नेपाल देशलाई भारतको राज्य बनाइदिन एग्रिमेन्ट गर्दिनेसम्म भनेको उनले बताएका छन् । उनले हिजो अनएयर भएको अन्तर्वातामा सो अभिव्यक्ति दिएका थिए ।
आज मुकुलले आफ्नो सामाजिक सञ्जालमा भनेका छन्, ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक–पटक फोन गरे, फोन उठाइन । मसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन’ लगायत अनेक भनेकाले, हिजै राती इलाकाको डिएसपिलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु ।’