काठमाडौं, ४ साउन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस महानगर समितिका सभापतिहरुसँग काठमाडौंमा भेटवार्ता गरेका छन् । कोइरालाले भेटवार्ताका क्रममा पार्टी नेतृत्व र पदाधिकारीहरुको कार्यशैली हेर्दा तोकिएको समयमा १५औं महाधिवेशन हुनेमा आशंका उत्पन्न भएको बताए ।
तोकिएको समयमा महाधिवेशन नभए पार्टी धरासयी हुने र त्यसको असर आगामी निर्वाचनहरुमा पर्ने भएकाले त्यसका लागि चनाखो हुन कोइरालाले आग्रह गरे ।
महानगरका सभापतिहरुले आफूहरुको पार्टी मर्यादाक्रम नमिलेको र विधानले कुनै अधिकार नदिएको गुनासो राखेका थिए । भेटघाटमा महानगर सभापतिहरु नीलकाजी शाक्य (काठमाडौ), सुवानन्द धाख्वा (ललितपुर, चित्रसेन अधिकारी (भरतपुर), दिपक चापागाईं (विराटनगर र मनिन्द्र नेपाली (बिरगञ्ज) सहभागी थिए ।