Logo

संविधान संशोधनको विषयमा उपप्रधानमन्त्री सिंहको धारणा सार्वजनिक



काठमाडौं, ७ साउन । उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताको चाहना र देशको आवश्यक्ताअनुसार संविधान संशोधन हुनसक्ने बताएका छन् । सहिद स्मृति प्रतिष्ठानले आज (सोमबार) आयोजना गरेको ‘वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र’ विषयक विचार गोष्ठी र श्रमिक विमर्श विशेष स्मारिका विमोचन कार्यक्रममा बोल्दै नेता सिंहले प्रक्रिया पूरा गरेर संविधान संशोधन गर्न सकिने बताएका हुन् ।

उनले भने,‘यो संविधानको विशेषता नै प्रक्रिया पूरा गरेर संविधानमा जनताको माग र समयको आवश्यकता अनुसार संशोधन गर्न सकिने प्रावधान हो । जनताको माग र देशको आवश्यकताअनुसार संविधान संशोधन हुन सक्छ, तीन तहको सरकारले अधिकारसम्पन्न भएर काम गरेको भए यो तहमा पुग्दैनथ्यौ भन्ने मलाई लाग्छ ।’

संघ, प्रदेश र स्थानीय तीन तहको सरकार अधिकार सम्पन्न नहुँदा अहिलेको जटिल अवस्था सिर्जना भएको भन्दै उपप्रधानमन्त्री सिंहले वर्तमान सरकारले रोजगारी सिर्जना गर्ने, उद्योग संचालनको वातावरण बनाउने र अर्थतन्त्रलाई ठिक ठाउँमा ल्याउनेगरि प्राथमिकता बनाएको स्पष्ट पारे ।

अहिलेको परिस्थिति सुधार गर्न र जनतालाई राहत दिन उद्देश्यले नै कांग्रेस एमालेसहित साना दल सम्मिलित सरकार गठन भएको पनि उनको भनाई थियो । नेता सिंहले अहिलेको अवस्थाबाट राम्रो गर्नका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्