Logo

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका नेता लामाद्वारा दाबी पेस




बागमती, ८ साउन । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा (तामाङ) ले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का ६४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित नेता लामाले प्रदेशप्रमुख यादवचन्द्र शर्मासमक्ष दाबी पेस गरेका हून् । कांग्रेस बागमती प्रदेशका सभापति तथा प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँ र एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाका साथ उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका हून् । नेता लामालाई आजै प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीमा नियुक्त गर्ने सम्भावना छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा स्वीकृत गर्दै प्रदेशप्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि दलहरुलाई आज साँझ ५ बजेसम्ममा दाबी पेस गर्न आह्वान गरेका थिए ।

यसैबीच कांग्रेसले मुख्यमन्त्रीसहित सात र एमालेले छ मन्त्रालय लिने सहमति भएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्