Logo

गोरखा पहिरोः बेपत्ता भएका सबैको पहिचान खुल्यो



गोरखा, १३ साउन । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा गएराति पहिरोमा परी बेपत्ता भएका सबैको पहिचान खुलेको छ ।

गएराति स्थानीय जीतबहादुर गुरुङको घर र गोठ पहिरो बगाउँदा पाँचजना बेपत्ता भएका धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले पुष्टि गरे । पहिरोमा जीतबहादुरसहित कान्छी गुरुङ, सोलाल कान्छा गुरुङ, रमेश परियार र रमेश गुरुङ बेपत्ता भएका उनले जानकारी दिए ।

अध्यक्ष गुरुङका अनुसार घटनास्थलमा बेपत्ताको खोजीका लागि स्थानीयसहित जनप्रतिनिधि र नेपाल प्रहरीको टोली खटिएको छ । पहिरोमा परी घाइते भएका दिलीप गुरुङ र छामबहादुर गुरुङ रहेका जनाउँदै दिलीपको अवस्था भने गम्भीर रहेको उनले बताए । घाइते दुवैको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

“नेपाली सेनाको टोली यसअघि नै उद्धारका लागि घटनास्थलतर्फ गइसकेको छ । स्थानीय र प्रहरीको टोली घटनास्थलमा पुगेर बेपत्ता भएकाको खोजी तीव्र पारेको छ”, अध्यक्ष गुरुङले भने । भौगोलिक विकटताका कारण घटनास्थलतर्फ पुग्न केही कठिनाइ भएको उनले जानकारी दिए ।

“उक्त घरमा होटलसमेत सञ्चालन गरिएकाले बाहिरबाट अतिथि आएर खानेबस्ने गर्दथे । यसअघि पहिरोमा परी चारजना बेपत्ता भएका भन्ने जानकारी पाएका थियौँ । पछि थप एकजना पहिरोमा बेपत्ता भएको पुष्टि भएको हो”, अध्यक्ष गुरुङले भने ।

सोही ठाउँमा कामका लागि पुगेका ट्र्याक्टर चालक रमेश परियार पहिरोमा परेर बेपत्ता भएका स्थानीय कर्णमाइला गुरुङले जानकारी दिए । उनी शनिबार मात्र ट्र्याक्टर लिएर यहाँ पुगेका थिए ।

बेपत्ता हुनेमा एकै परिवार तीनजना

पहिरोमा परी बेपत्ता हुनेहरुमा एकै परिवारका तीनजना रहेका छन् । एउटै घरका बाबु, छोरा र बुहारी पहिरोमा बेपत्ता भएको स्थानीय कर्णमाइलाले जानकारी दिए । पहिरोमा ६५ वर्षीया सोलाल कान्छा, उनका छोरा जीतबहादुर र बुहारी कान्छी गुरुङ बेपत्ता भएका हुन् । बेपत्ताको खोजी र उद्धार तीव्र पारिएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताए । रासस



प्रतिक्रिया दिनुहोस्